
काठमाडौं, साउन १४ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेपछि थप अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो बढेको छ ।
श्रेष्ठले पछिल्लोपटक गएको शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका थिए ।
उनले अख्तियारमा पटक–पटक बयान दिइसकेका थिए ।
आयोगले ललिता निवास जग्गा प्रकरणबारे श्रेष्ठले धेरै कुरा खोलिसकेकाले उनको मृत्युपछि पनि अनुसन्धानमा खासै फरक नपर्ने बताएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानकाक्रममा रहेका व्यक्तिको मृत्यु भएको खन्डमा उसलाई हुने सजायबाहेक बिगो भराउने काममा प्रभाव नपर्ने हामीसित बताए ।
प्रवक्ता श्रेष्ठले उक्त जग्गा प्रकरणमा आरोपी अरुमाथि पनि अनुसन्धान जारी रहेको जानकारी दिए ।
अनुसन्धानकैक्रममा रहेका श्रेष्ठले गएको आइतबार बालाजुको माछापोखरीस्थित एक सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए ।
५७ वर्षीय श्रेष्ठ मालपोत कार्यालयबाट २०६० सालमा सेवानिवृत्त भएका थिए । उनीमाथि मालपोत कार्यालय डिल्लीबजारको नायब सुब्बा रहँदा कागजपत्र मिलाएर ललिता निवासलगायतका सरकारी जग्गा व्यक्तिको नाममा सार्न सहयोग गरेको आरोप लागेको छ ।
पर्वतको फलेवास नगरपालिका–६, देवीस्थान स्थायी घर भएका श्रेष्ठ नेपाली कांग्रेस पर्वतका सचिवसमेत थिए ।
प्रतिक्रिया दिनुहोस्