१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ


0
Shares

बाँके । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट  गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो ।

पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ । उक्त चाँदीको नेपाली मूल्य रु एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।

गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए ।

भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।

गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।