काठमाडौं, साउन १३ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले सोमबार पनि संसद बैठक अवरुद्ध गरेका छन् ।
गएको असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेर विरोध गरेका थिए ।
विपक्षी दलका सांसदले विरोध गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाएपछि दुवै दलका सांसदहरुले ‘रोस्टम’ घेराउ गरे ।
विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
सभामुख महराले विपक्षी दलका सांसदलाई सदन सुचालू गर्नका लागि पटक–पटक आग्रह गरेपनि विपक्षी दलका सांसदहरुले रोस्टम घेराउ जारी राखे ।
कबिर ४० मिनेटसम्म विपक्षीको नाराबाजी नरोकिएपछि सभामुख महराले संसद बैठक आउँदो बुधबारसम्मका लागि स्थगित गरे ।
विपक्षीले ‘वेल’ घेराउ गरेर नाराबाजी गरिरहँदा ‘अडियो’ काटिएको थियो ।
बैठक स्थगित भएपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र सभामुख जनताका आवाज दबाउन उद्दत रहेको आरोप लगाए ।
राजपाका सांसद राजेन्द्र महतोले जनताका मागप्रति सरकार र सभामुख गम्भीर नभएको आरोप लगाए ।
तर, सत्तारुढ दल नेकपाका सांसद भीम रावलले विपक्षी दलले प्रतिनिधिसभा सन्चालन कार्यविधिकै उल्लंघन गरिरहेको आरोप लगाए ।
सर्लाहीमा प्रहरीसितको भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द नेतृत्वको समूहका कुमार पौडेलको हत्या र असार १४ गते सर्लाहीमा नै प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका सरोजनारायण सिंहका हत्याबारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेस र राजपाको माग छ ।
उनीहरुले यही माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । तर, सरकार यसमा सहमत भएको छैन ।
गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधिसभा बैठक सुचारु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्