Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


नेपाललाई कोरोनाविरुद्धको खोप किन्न ४८ अर्ब लाग्ने अनुमान


0
Shares

काठमाडौं, मंसिर ६ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले कोभिड–१९ विरुद्धको खोप उपलब्ध भए खरिद गर्न करिब ४८ अर्ब लाग्ने अनुमान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिको सुझावअनुसार नेपालमा १५ वर्षमाथिका कुल ७२ प्रतिशत नागरिकलाई खोप लगाउन उक्त रकम आवश्यक पर्ने देखिएको हो ।

खोपको जोहो आन्तरिक स्रोत तथा बाँकी रकम भने दातृनिकाय र विकास साझेदारबाट लिने स्वास्थ्य मन्त्रालयको तयारी रहेको डा. उप्रेतीले जानकारी दिनुभयो ।

खोपको विश्वव्यापी गठबन्धन गाभीले ‘कोभ्याक्स’ कार्यक्रमअन्तर्गत् कम र मध्यम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्छ ।

सो कार्यक्रमअनुसार नेपालमा पनि २० प्रतिशत नागरिकलाई खोप दिन सहयोग गर्ने सहमति भएको छ । यसअनुसार एक मात्रा खोपको दुई अमेरिकी डलरमात्रै तिर्नुपर्ने हुन्छ ।

तर, ५२ प्रतिशत नागरिकलाई भने नेपाल सरकारको स्रोत वा अन्य सहयोगमार्फत् नै खोप किन्नुपर्ने हुन्छ ।

नेपालले गाभीमार्फत् पाउने खोप सुरुमा जोखिमयुक्त क्षेत्रमा रहेकालाई उपलब्ध गराइने डा. उप्रेतीले बताउनुभयो ।

अहिले कोरोनाभाइरसविरूद्ध निर्मित खोपको परीक्षणमा विश्वभर महत्वपूर्ण प्रगति भएको छ । एक दर्जनभन्दा बढी खोप तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षणमा छन् ।

तर, अहिलेसम्म कुनैपनि खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) वा कुनै देशको नियामक निकायबाट सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाइसकेको छैन ।