३० असार २०८२, सोमबार | Tue Jul 15 2025


१३ औं दक्षिण एसियाली खेलकुदको तयारीका विषयमा सांसदहरुको चासो


0
Shares

काठमाडौं, साउन १२ । आगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका विषयमा सांसदहरुले चासो राखेका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आइतबार भएको छलफलमा उनीहरुले भौतिक संरचना पूर्वाधार समयमै सम्पन्न गरी धेरैभन्दा धेरै पदक बटुल्न खेलाडीहरुलाई उत्कृष्ट प्रशिक्षणसँगै सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । समिति सदस्य एवं सांसद योगेश भट्टराईले सागको सफल आयोजनाले सार्क राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्ध थप मजबुत बनाउन मद्दत गर्ने बताउँदै पर्यटन बर्ष २०२० लाई प्रचारप्रसार गर्न पनि थप भूमिका खेल्ने धारणा राखे ।

यस्तै सांसद उमेश श्रेष्ठले दक्षिण एसियाली राष्ट्रहरुको चासो र नेपालको पनि गौरवको विषय भएकाले यसलाई सफल बनाउनुपर्ने बताए । खेलमैदानको छनोटमा विशेष ध्यान दिनुपर्ने भन्दै सांसद श्रेष्ठले नेपालले जित्ने खेलहरुमा मात्र तयारी गर्नुपर्ने बताए ।

समिति बैठकमा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागको तयारीका लागि छोटो समय रहेकाले सबै पक्षको सहयोगले साग आयोजना सफल हुन सक्ने बताए ।

सांसद नविना लामा, चित्रलेखा यादव लगायतले खेलाडीको सेवासुविधासँगै व्यवस्थापनको पाटो राम्रो बनाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)को ध्यानाकर्षण गराए ।

खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले भौतिक पूर्वाधार नै प्रमुख चुनौती भएको बताए ।

बैठकमा भाग लिँदै राखेप सदस्यसचिव रमेश सिलवालले सागका लागि निरन्तर खटिरहेको भन्दै समयमै प्रतियोगिता सम्पन्न हुने दावी गरे ।