६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


व्यवसायिक कृषिबाट पुष्करनाथले कमाउँछन बार्षिक १५ लाख


0
Shares

-सागर महत/ईमेज

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका एक किसान व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

सिँचाइ तथा प्रविधिको अभावकै बीच विगत ३० वर्षदेखि तरकारी खेतीमा लागेका पुष्करनाथ बन्जाडेको सफलताले कृषि क्षेत्रको सम्भावनालाई उजागर गरेको छ ।

वि.स. २०४६ सालदेखि कृषि पेशा अँगालेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडाका पुष्करनाथ बञ्जाडेले सफल किसानको आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

पाखो जमिन त्यसमाथि सिँचाइको असुविधासँग सामना गरी कृषिमा समर्पित भएका उनले यसबाट करोडाँै रुपैयाँ कमाइसकेका छन् ।

कृषि जोन अर्घाखाँचीबाट ८५% अनुदानमा हाईटेकको प्रयोगमार्फत् लटरम्म टमाटर फलाएका छन् भने पाखो बारीमा बोडी, सेमी काक्रो, बन्दा लौका खुर्सानी मुला फर्सीलगायतका तरकारी मनै लोभ्याउने गरी फलेका छन् । यसबाट उनले वार्षिक १५ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।

करीब २५ रोपनी क्षेत्रफलमा लगाएको तरकारीले राम्रै बजार पाएको छ ।

भएका जग्गाजमिन बाँझो राखेर विदेशतिरै भासिने प्रवृत्ति बढिरहेका बेला उनको यो सफलताले स्वदेशमै सफल भइन्छ भन्ने प्रेरणा जगाइदिएको छ ।

पानीको असुविधा भएकाले बर्षाको पानी पोखरीमा संकलन गरी सिँचाइको बन्दोबस्त मिलाएका उनले  ४/५ जनालाई रोजगार समेत दिएका  छन् ।

ज्यालादारीमै भएपनि आफ्नै ठाउँमा काम पाउँदा सहज भएको धनकला मुखिया बताउँछिन् ।

राष्ट्रिय कृषि उत्कृष्ट पुरस्कारबाट सम्मानित बन्जाडे जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउने सोचमा छन् ।

कृषि क्षेत्रमा घट्दो आकर्षणलाई वृद्धि गर्न सबैजना हातेमालो गरेर अगाडि बढ्न आवश्यक छ ।