काठमाडौं । स्कुल विभागको नेतृत्वका विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा स्कुल विभागको नेतृत्वसम्बन्धी विवाद समाधानको प्रयास गरिने बताइएको छ ।
यसअघि पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।
दुई अध्यक्षबीच नै सहमति नभइसकेकाले आजको बैठकमा पनि यसमा सहमति जुट्ने सम्भावना भने न्यून रहेको छ ।
पार्टी स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।
दुवै नेताले आफ्नो अडान नछाड्ने पार्टी एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।
तर पछिल्लो समयमा नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबी गरेका छन् ।
यसैबीच सचिवालय बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि आजै घोषणा गर्ने तयारी गरेको छ ।
तीन वटा आयोगमध्ये दुई आयोगको अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ ।
यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् ।
अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै, सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् ।









प्रतिक्रिया दिनुहोस्