Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


‘रअ’ प्रमुख र नेताहरुबीचको भेट्ले तरङ्ग : कुटनीतिक आचारसंहिता पालना नगरेको आरोप


0
Shares

-दीपक श्रेष्ठ/ईमेज

काठमाडौं । भारतले नेपालको राजनीतिमा माईक्रोम्यानेजमेन्ट गर्ने र परिणाम आफ्नो पक्षमा पार्न जुनसुकै हतकण्डा अपनाउने गरेको कुरा सार्वजनिक भएकै तथ्य हो ।

तर राजा हुन वा राजनीतिक दलका नेतृत्व जसले भारतका सामू अडान लिएका छन् उनीहरु जनतामाझ लोकप्रिय भएका छन् भने झुकेर जानेहरुले देश र जनता विरुद्ध आघात पुर्‍याएको आरोप लाग्ने गरेको छ ।

नेपालका सञ्चार माध्यमहरुमा यो हप्ता नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलको समाचारले निकै चर्चा पायो । तीन दिनसम्म नेपालमा रहेका गोयल सोमबार भारत फर्किसकेका छन् ।

एक महिना अघि ‘रअ’ प्रमुखमा नियुक्त भएका गोयल नेपालमा पशुपतिनाथको दर्शन गर्न आएको बताइएको थियो ।

तर यही मेसोमा उनले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ एवं प्रतिपक्षी दलका शिर्ष नेता लगायतलाई भेटेर गएको खबर सार्वजनिक भएको छ ।

उनी आए र राज्यका शक्तिशाली संस्थाका प्रमुखहरुलाई भेटेर गए तर ति कुनैपनि संस्था वा व्यक्तिले यस सम्बन्धमा नेपालका सञ्चार माध्यमलाई आधिकारीक जानकारी गराएनन् । यसले उनीहरुले गोयलसँगको भेटघाट लुकाउन खोजेको आरोप लागेको छ ।

नागरिक दैनिकले ‘कुटनीतिक मर्यादा नाघेर रअ प्रमुखसँग भेट’ भन्दै प्रथम पृष्ठमै समाचार प्रकासित गर्यो । समाचारमा अर्को मुलुकको गुप्तचर प्रमुखलाई भेट्दा कुटनीतिक आचारसंहिताको पालना नगरिएको र भेटघाटलाई गोप्य राखेर राजनीतिक नेतृत्वले अपरिपक्वता र कमजोरी देखाएको उल्लेख थियो ।

यसैगरी नेपाल समाचारपत्रले रअ प्रमुख गोयल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवासमा गएको उल्लेख गरेको छ ।

सोही समाचारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने गोयललाई भेट्न भारतीय दुतावास पुगेको जनाईएको छ ।

अन्नपुर्ण पोष्ट दैनिकले नेता भेट्दै भारतीय टोली भन्ने शिर्षकमा गोयलले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरेको उल्लेख गरेको छ ।

देशसञ्चार अनलाईन पत्रिकाले रअ प्रमुखले, गरे पशुपती दर्शन र चार उच्च पदस्यसँग भेट भन्दै राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकलम दाहाल‘प्रचण्ड’ र शेर बहादुर देउवासँग भेटघाट गरेको समाचारमा लेखेको छ ।

रातोपाटीले प्रधानमन्त्री सहित शिर्षनेताहरुलाइ भेटेर फर्किए रअ का प्रमुख भन्ने शिर्षकमा समाचार बनाएको छ ।

समाचारमा गोयलले प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न नेता र सुरक्षा निकायका प्रमुखलाई भेटेको उल्लेख छ ।

यसैगरी काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा सचिवालय सदस्यद्वय माधब कुमार नेपाल र बामदेब गौतम, नेपाल प्रहरी प्रमुख तथा नेपाली सेनाका प्रमुख समेतलाई महाराजगञ्ज स्थित एक ब्यक्तिको निजी घरमा भेटघाट गरेको समाचारमा उल्लेख छ ।

अनलाइनखबरले भने काठमाडौमा रअ को माइक्रो म्यानेजमेन्ट ? शिर्षकमा समाचार बनाएको छ । समाचारमा पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई  गोयलले भेटेको उल्लेख छ ।

यो समाचारमा बाह्रखरीले सम्पादकीय नै लेख्यो भने सेतोपाटी, नेपाल लाइभ लगायतका अनलाईनहरुले पनि समाचार बनाएका छन् ।

तर औपचारिक जानकारी नदिएका कारणले मुलधारका धेरै सञ्चार माध्यममा भने यो समाचार ओझेलमा परेको छ ।

राज्यका निकायले सञ्चार माध्यमलाई औपचारिक जानकारी नदिइ विदेशी गुप्तचर निकायका प्रमुखलाई भेटेकोमा सामाजिक सञ्जालमा भने व्यापक आलोचना भइरहेको छ ।

विगतमा पनि भारतले नेपालको राजनीतिमा माईक्रोम्यानेजमेन्ट गर्दै अस्थिरता निम्त्याएकाले पछिल्लो घट्नाक्रमबाट नेपालीहरु सशंकित बनेका छन् ।