Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


सरकारविरुद्ध संसदमा एकजुट देखिएका कांग्रेस र राजपाको कार्यगत एकतामा आशंका


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) पछिल्ला दिनमा सरकारविरुद्ध संसद्मा एकजुट देखिँदै आएका छन् ।

तर सडक संघर्ष वा दीर्घकालीन कार्यगत एकताका लागि भने दुवै दल एकअर्काप्रति सशंकित छन् ।

गत असार ५ गते सर्लाहीमा कुमार पौडेलको हत्या भएको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै विपक्षी कांग्रेस र राजपा संसद्मा एकजुट भए ।

त्यसैगरी असार ३० गते विपक्षी दुई पार्टी मिलेर बाढीपहिरो र डुवानपीडितका बारेमा प्रतिनिधिसभामा संयुक्तरुपमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए ।

दुई पार्टीबीच संसद्मा देखिएको यो एकताभित्र गम्भीर राजनीतिक अर्थ लुकेको भन्दै पछिल्ला दिनमा कतिपयले चर्चासमेत गरिरहेका छन् । तर दुवै दल एक अर्कालाई भरोसा गर्न भने तयार छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका शीर्ष नेताहरुबीच पटक–पटक छलफल भएर मात्र संसद्मा कार्यगत एकता हुने अवस्था पुगेको थियो ।

तर, कांग्रेसकै कतिपय नेताहरु कांग्रेस र राजपाबीचको सहकार्य सामान्य विषय भएको बताइरहेका छन् ।

गैरन्यायिक हत्या छानबिन, लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि दुई दल सामान्य रुपमा संसद्मा सहकार्यको चरणमा रहेको उनीहरुको भनाइ छ ।

यी दुई विषयमा एक ठाउँमा उभिएका विपक्षी दुई दल एकअर्काको कार्यशैलीप्रति भने अझै भरोसा गर्न सकिरहेका छैनन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव अहिले तत्कालका विषयमा मात्र कार्यगत एकता गरिएको भन्दै बाँकी सहकार्यका लागि कांग्रसेको कार्यशैली प्रतिक्षित छ भन्छन् ।

कांग्रेस त अहिले भएको सहकार्यलाई समेत कार्यगत एकता मान्न पनि तयार छैन ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजाल एउटा संयुक्त प्रस्तावलाई कसरी कार्यगत एकता भन्ने भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले विपक्षीलाई एकीकृत मात्र गरेको बताउँछन् ।

सरकारले गरेका र गर्न लागेका गलत कामको खबरदारी गर्नु विपक्षी दलहरुको धर्म हो ।

कांग्रेस र राजपा यही धर्म निर्वाह गर्दै पछिल्ला दिनमा संसद्मा एकजुट देखिएको विषयलाई दीर्घकालीन कार्यगत एकताको संकेतका रुपमा ब्याख्या गर्न अलि हतार हुन्छ कि ।