पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह • Image Khabar Image Khabar


पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह


रासस
२४ कार्तिक २०७७, सोमबार १५:४७

पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह

काठमाडौं, कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।

अन्तरपार्टी विवादलाई मार्क्सवादी र विधिसम्मत् तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीका आधिकारिक निकायलाई गतिशील तुल्याइ विभाजनजस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाउनुभएको हो ।

अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ–‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मकरुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौं ।’

प्रतिक्रिया दिनुहोस्