
काठमाडौं, साउन ३ । नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार युरोप भ्रमणमा निस्किएको छ ।
बिहीबार बिहान साढे ९ बजे कतार एअरवेजको उडानबाट टोली इंग्ल्यान्डतर्फ लागेको हो ।
इंग्ल्यान्डको लड्र्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेपाली टोली त्यसतर्फ गएको हो ।
काठमाडौंमा बुधबार एक कार्यक्रम गरी खेलाडीलाई औपचारिक बिदाइ गरिएको थियो ।
पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबारै लन्डन पुग्नेछ ।
क्रिकेटको ‘मक्का’ मानिने लड्र्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला खेल्नेछ ।
त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक दुईओटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । साउन १६ र १७ गते हुने उक्त खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स दुवै टोलीले पाँच महिनाअघि एक दिवसीय क्रिकेट टोलीको मान्यता पाएपछि पहिलोपटक एक दिवसीय खेल खेल्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्