२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


दुवाकोटमा वीर अस्पताल विस्तारमा अन्योल


0
Shares

प्रज्ञा तिमल्सिना र सानु माली (इमेज)

काठमाडौं, साउन ७ । भक्तपुरको दुवाकोटमा विस्तार गर्ने भनिएको वीर अस्पतालको नयाँ भवन निर्माणमा चीन सरकारले सहयोग नगर्ने जनाएपछि निर्माणमा अन्योल देखिएको छ ।

निर्माणस्थलको भौगोलिक अवस्था र माटो परीक्षण गर्दा अस्पताल निर्माणका लागि उपयुक्त नदेखिएको निष्कर्ष आएपछि अस्पतालको विस्तारमा अन्योल देखिएको हो ।

सरकारले २०७३ साल साउनमा अत्याधुनिक सेवासहितको वीर अस्पतालको सेवा विस्तार गर्ने निर्णय गरेको थियो । यसका लागि भक्तपुरको दुवाकोटमा रहेको ५०० रोपनी जमिन अस्पतालको नाममा पास भयो ।

तर, योजना तयार भएको तीन वर्ष बितिसक्दा पनि अस्पताल निर्माण भने अघि बढ्न सकेको छैन ।

ठूलो लागतमा विस्तार गर्न लागिएको अस्पतालका लागि नेपाल सरकारले चीन सरकारलाई सहयोगका लागि आग्रह गरेको थियो ।

त्यसपछि चीनले दुवाकोटको जमिनको स्थलगत निरीक्षण गर्न विज्ञ टोली पठायो । टोलीले भौगोलिक अवस्था, माटोलगायतको परीक्षणपछि त्यहाँ अस्पताल विस्तार गर्न नसकिने प्रतिवेदन सरकारलाई बुझायो ।

त्यसपछि भने वीर अस्पतालको दुवाकोटमा गर्न लागिएको विस्तारकार्य अन्योल बनेको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले चीनले बढी लागत लाग्ने प्रतिवेदन बुझाएको बताए ।

निर्देशक डा. सेन्चुरीले अस्पताल निर्माणका लागि चीनलाई पुनः आग्रह गरेको र आफूहरु छलफलकैक्रममा रहेको जानकारी दिए ।

केही समयअघिमात्र स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले पनि प्रारम्भिक अध्ययनबाट उक्त ठाउँमा अस्पताल बनाउनै नमिल्ने प्रतिवेदन आएपछि अस्पताल निर्माणमा ढिलाइ भएको बताएकी थिइन् ।

उनले अस्पताल निर्माणका लागि अन्यत्र कहाँ जमिन खोज्ने भन्ने विषयमा छलफल नै नभएकोसमेत बताएकी थिइन् ।

तर, अस्पतालका निर्देशक डा. सेन्चुरी भने निकै अध्ययनपछि दुवाकोटमा जमिन छानेकाले अब अर्को स्थान खोज्ने अवस्थामा नरहेको बताउँछन् ।

सरकारले प्रत्येक वर्ष वीर अस्पताल विस्तारलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष पनि ४० करोड रुपैयाँ छुट्याएको छ ।

अस्पतालको सुविधासम्पन भवन निर्माणका लागि भने ३६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

भिडियो हेर्नुहोस्