Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


विवाद समाधानका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै


0
Shares

congress welcome agreement between dr kc and government

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बस्दै छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक बस्नु अघि देखिएका विवाद समाधान गर्न पदाधिकारी बैठक बोलाइए पनि नेताहरुबीच सकारात्मक छलफल हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हिजो बसेको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रका विषयमा छलफल भए पनि सहमति जुट्न सकेन ।

बैठकमा सहभागी नेताहरुका अनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राख्नु भएको थियो ।

तर सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागि हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आजको बैठकमा विवादलाई हल गर्ने गरि छलफल गरिने नेताहरुले बताएका छन् ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ ।