Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


नेकपाभित्र विभाग गठनमा विवाद


0
Shares

अक्कल कुँवर र भरत केसी (इमेज)

काठमाडौं, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विभाग गठनमा विवाद देखिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाएपनि विवादका कारण विभागको नेतृत्व टुंगो लाग्न सकेन ।

विभाग गठनमा नेकपाभित्र स्कुल विभागको नेतृत्वबारे तीव्र विवाद छ ।

विभाग र सांगठनिक एकताका बाँकी विषय टुंगो लगाउन मंगलबार पुनः सचिवालय बैठक बस्दैछ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीका ३२ विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी केन्द्रले १४ विभागको नेतृत्व लिने सहमति भइसकेको छ ।

तीमध्ये पार्टीमा निकै महत्वपूर्ण मानिने संगठन, विदेश, नीति तथा प्रतिष्ठान पूर्वएमालेले लिने र अर्थ र प्रचार विभाग पूर्वमाओवादी केन्द्रले लिने सैद्धान्तिक सहमति भइसकेको छ ।

तर, महत्वपूर्ण स्कुल विभागमा भने विवाद छ । दुवै पक्षले स्कुल विभाग आफूले पाउनुपर्ने अडान राखेका छन् ।

स्कुल विभाग पार्टीको वैचारिक नेतृत्व गर्ने विभाग भएकाले दुई पक्षबीच रस्साकस्सी भएको हो ।

यो विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको दाबी परेसँगै आन्तरिक टकराव तीव्र भइरहेको छ ।

दुई पार्टी एकतापछि पनि ‘जनताको बहुदलीय जनवाद’कै मर्मअनुसार अघि बढेकाले स्कुल विभाग आफूहरुले पाउनुपर्ने पूर्वएमाले पक्षको अडान छ ।

तर, विदेश र संगठन विभागजस्ता महत्वूर्ण विभाग पूर्वएमालेको भागमा परेकाले पार्टीको वैचारिक नेतृत्व गर्न आफूले पाउनुपर्ने पूर्वमाओवादी केन्द्रको अडान छ ।

पूर्वएमाले पक्षले आफ्नो भागमा परेका विभागको नेतृत्व टुंगो लगाइसकेको दाबी गरेको छ । जसअनुसार विदेश विभागको माधवकुमार नेपाल, संगठन विभागको वामदेव गौतम र नीति तथा अध्ययन प्रतिष्ठानको नेतृत्व झलनाथ खनालले गर्ने सहमति भएको जनाइएको छ ।

उक्त सहमतिलाई पुष्टि गर्ने प्रतिक्रिया सचिवालय सदस्य वामदेव गौतमले दिइसकेका छन् ।

तर, पूर्वमाओवादी केन्द्र भने गौतमको भनाइसँग सहमत देखिँदैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक निकायले गरेको निर्णयमात्र आधिकारिक हुने भन्दै दुई अध्यक्षबीचको गृहकार्य आधिकारिक हुन नसक्ने टिप्पणी गरे ।

सचिवालयकै नेताहरुबाट आएको विवादास्पद अभिव्यक्तिले विभागको नेतृत्वका विषयमा नेकपाभित्रको विवाद पुष्टि गरेको छ ।

सचिवालय बैठक बस्नुअघि अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको पूर्वमाओवादी केन्द्रका नेताहरुको बैठकले स्कुल विभागबाट पछाडि हट्न नहुने निष्कर्ष निकालेकाले विभाग गठनको विषय पेचिलो हुने देखिएको छ ।

भिडियो हेर्नुहोस्