Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


तिलगंगा आँखा अस्पताल विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र घोषित


0
Shares

काठमाडौं, साउन ६ । विश्व स्वास्थ्य संगठनले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रकारुपमा मान्यता दिएको छ ।

अस्पतालको २५औं वार्षिकोत्सवका अवसरमा सोमबार संगठनले आँखारोगको उपचारमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको भन्दै आफ्नो समन्वय केन्द्र घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा आँखा स्वास्थ्य सेवा, शैक्षिक तालिम तथा प्राविधिक जनशक्ति, उत्पादन र अनुसन्धान सेवा गरेवापत संगठनले समन्वय केन्द्रकारुपमा मान्यता दिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आँखा उपचारका लागि विश्वमै अग्रस्थान हासिल गरेको भन्दै अस्पतालले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

उनले हालसम्म अस्पतालले ६० लाखको उपचार र चार लाख मानिसको आँखाको शल्यक्रिया गरेर ज्योति प्रदान गरी अस्पतालले असाधारण र सराहनीय काम गरेको बताए ।

उनले अनुसन्धान र तालिमका लागि अस्पताललाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

मोतियाविन्दु चिकित्सा विधिमा फड्को मारेको अस्पतालमा हाल चीन, अर्जेन्टिना, मलेसिया, इन्डोनेसियालगायत दक्षिण एसियाका नेत्र चिकित्सकहरु मोतियाविन्दुसम्बन्धी अध्ययनका लागि तिलगंगा आँखा अस्पताल आउने गर्छन् ।

अस्पतालले आँखाको लेन्स उत्पादन गरी निर्यातसमेत गर्दै आएको छ ।