
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा पछाडि परेका समुदायलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नीति तथा कार्यक्रममा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथलगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिने र महानगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक भवनलाई सिटी आर्टस्को रुपमा रुपान्तरण गरी अध्ययन र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ ।
महानगरपलिकाका प्रवक्ता ईश्वरमान डंगोलले उपत्यकाभित्र प्रदूषण र धुवाधुलोलाई नियन्त्रण गरी महानगरलाई नो मास्क जोनको रुपमा विकास गरिने बताए ।
प्रवक्ता डंगोलले विपद् व्यवस्थापनका लागि पाँच ठाउँमा अध्याधुनिक उपकरणको व्यवस्था गरिने जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्