Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


अमेरिकामा रहेका स्रष्टाको सम्बन्धमा गणेश–यशोदाको ‘सम्बन्ध’


0
Shares

काठमाडौं । गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् ।

ललितपुरमा बुधबार आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् ।

गणेशले संगीत दिएका गीत परिता राजभण्डारी, विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्री, ज्योति पौडेल र पुनम काफ्लेले लेखेका हुन् ।

यो एल्बममा कस्तो सम्बन्ध, सिमाना त, जति छिटो, रुवाएर छाड्नेछैन, लुकीलुकी र सुन फूल बोलका गीत सुन्न सकिन्छ ।

टाइम्स म्युजिकको प्रस्तुति रहेको एल्बमका दुई गीतमा युगल र अन्यमा यशोदाको स्वर रहेको जनाइएको छ ।

संगीतकार जंगमले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गरिरहेको सांगीतिक दम्पतीको यो आगमन स्वागतयोग्य रहेको उल्लेख गर्दै गम्भीरतापूर्वक कलालाई ब्युँताएर जनतामाझ ल्याएको बताए ।

‘शास्त्रीय संगीतको ब्याकग्राउन्डबाट आएको दम्पतीको एल्बम राम्रा गीतको पंक्तिमा पर्छन् भन्नेमा म विश्वस्त छु’, उनले भने ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले गणेश–यशोदा दत्पतीको अर्को सांगीतिक फड्को रहेको बताए ।

‘दार्जिलिङलाई कुँदिएको हीरा भनिन्छ, इलामचाहिँ नकुँदिएको हीरा’, उनले भने, ‘उहाँहरू त्यही हीरा भएको ठाउँको हीरा हुनुहुन्छ ।’

इलामबाट काठमाडौं, हङकङ हुँदै अमेरिका पुगेका संगीतकार पराजुलीले आफू जता रहे पनि संगीतमै रहेको सुनाए ।

अमेरिकामा रहेका नेपाली स्रष्टासँगको सम्बन्धले यो एल्बमको जन्म भएको सुनाउँदै उनले हरेक हिसाबले सम्बन्ध शीर्षक सार्थक रहेको बताए ।

गायिका पराजुलीले गणेशकै संगीतको गीत दिन ढल्यो अँधेरी रातमाबाट आफू चिनिएको सुनाउँदै अरू गीत पनि कम नरहेको बताइन् ।

घरमै सांगीतिक वातावरण रहेको उनको भनाइ थियो । यो दम्पतीले ‘गाउँको माया’ २०५६, ‘सहयात्रा’ २०६२ र ‘फुर्सदमा’ २०६८ बजारमा ल्याएको थियो । 

 

Skip This