च्याम्पियन्स लिगः चेल्सीको पहिलो जित • Image Khabar Image Khabar


च्याम्पियन्स लिगः चेल्सीको पहिलो जित


Imagekhabar
१३ कार्तिक २०७७, बिहीबार ०७:०७

च्याम्पियन्स लिगः चेल्सीको पहिलो जित

काठमाडौं । चेल्सीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ ।

समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सीले गएराति भएको खेलमा एफके क्रास्नोडरलाई ४–० गोलअन्तरले पराजित गर्दै यो सिजनमा पहिलो जित दर्ता गरेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

जितका लागि ३७ औँ मिनेटमा चेल्सीका कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे ।

७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४÷० ले विजयी भयो ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १-० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार–चार अंक छ ।

उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आरबी लेइप्जिगलाई ५–० ले पराजित गर्दै लगातार जितको शृङ्खला जारी राखेको छ ।

समूह एच अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा एक तथा दोस्रो हाफमा चार गोल गरेको हो ।

पउल पोग्बाको सहयोगमा म्यासन ग्रिनउडले २१ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफमा मार्कस रासफोर्डले ह्याट्रिक गरे ।

यस्तै ८७ औँ मिनेटमा पाएको पेनाल्टीमा एन्थानी मार्सलले गोल गरे । सोही समूह अन्तर्गत हिजो राति नै भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजी ले स्थानबुल बासाक्से हिरलाई २–० ले पराजित गरेको छ ।

नेइमार चोटका कारण मैदानबाट बाहिरिन बाध्य भएको खेलमा पिएसजीका लागि दुवै गोल मोइज किनले गोल गरे ।

६ अंकसहित म्यानचेस्टर युनाइटेड समूहको शीर्ष स्थानमा छ भने तीन अंकसहित पिएसजी दोस्रो र आरबी लेइप्जिग तेस्रो स्थानमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्