चितवन, साउन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिकमात्रै भएको बताएका छन् ।
बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै कांग्रेस आन्दोलनमा उत्रेको स्पस्ट गरे ।
अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षीले आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।
कांग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ ? त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उनले बताए ।
जनताका जनजीविकाको पक्षमा कांग्रेस लागिरहने भन्दै नेता पौडेलले कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
उनले भने–‘भर्खरै बनेकोे सरकार छ । प्रतिपक्षीको भूमिकाको नाममा असहिष्णुता प्रदर्शन गर्न पनि भएन ।’
नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रक्रियामा असन्तुष्टि पनि जनाए ।
राजदूत नियुक्तिकाक्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनको आरोप थियो ।
सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदीय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस् र त्यसबाट आशावादी भएर पक्षपात नगरुन् भन्ने आशयले त्यस्तो धारा राखिएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्