माफ गर निर्दयी शासक, लीलामीको आत्मसम्मानभन्दा स्वाभीमानयुक्त मृत्यु स्वीकार छ • Image Khabar Image Khabar


माफ गर निर्दयी शासक, लीलामीको आत्मसम्मानभन्दा स्वाभीमानयुक्त मृत्यु स्वीकार छ


Imagekhabar
९ कार्तिक २०७७, आईतवार १०:४९

rajan kuikel article corona free treatment and government decleration

राजन कुईंकेल ।

तीन वर्षदेखि बालुवाटारमा निर्लज्ज लम्पसार सम्राटले घोषणा गरे, ‘कोरोना विषाणुविरुद्ध राज्यको सहयोग चाहन्छौं भने, स्वघोषणा गर, म उपचार गर्न असमर्थ छु । म कंगाल छु । गरीब छु । दीनहीन छु ।’ ‘कम्युनिष्ट–समाजवादी’ सत्ताले हुँकार गर्दै बोल्यो, ‘भन, हे, त्राणदायक मेरो उपकार गर । मेरो प्राण तिम्रै हातमा छ । म सम्पूर्ण रुपमा तिमीमा समर्पित छु ।’ अनि मात्र सरकारी स्वास्थ्यकर्मीको नजर तिमीमाथि पर्ने छ । उपचार गर्दिन सक्छन् । सरकारी जालमा घुम्दाघुम्दै तिम्रो प्राणपखेरु बाँकी रह्यो भने तिमीले उपचार पाउँछौं ।

कर नामको रेतीले रेट्न टोले सरकारलाई कुनै बहाना चाहिन्न । जुठ्यानमा साग सप्रिँदा, खलोमा धान थुप्रिँदा, दिमागमा बुद्धि बढ्दा, घट्टमा कोदो पिस्दा, मिलमा धानको भुस खुट्टयाउँदा, खोलोमा पुल तर्दा, भँगालोको फड्केमा पाइलो हाल्दा, अशक्ततामा स्वास्थ्योपचार लिँदा, कलहमा अदालतको पाइलो टेक्दा, बालबच्चालाई शिक्षा दिँदा, वृद्ध बाआमालाई दूध पिलाउँदा जता फक्र्यो त्यतै करको पासो थापिएको छ । कहरको यो सनासोबाट उम्कने कुनै बाटो छैन । घाँटी कसी कसी कर असुल्ने सत्ता सिंहदरबारबाट उर्दी जारी गर्छ, ‘विश्वव्यापी यो महाब्याधीमा म तँलाई उपचार गर्दिन । गर्नै परे मेरो सत्ताका अघिल्तिर लत्रिन पर्दछ । घुँडा टेकेर याचना गर्नुपर्दछ । मेरो अगाडी स्वाभीमान लीलामीमा राख्नुपर्दछ ।’

यो आदेश त्यस्ता शासकले दिएका हुन्, जो सत्तामा रहँदा वा नरहँदा वर्षौवर्षदेखि निरन्तर राज्यकोषबाट करोडौं रकम लूड्याएर देश विदेशका सुविधासम्पन्न, महँगा अस्पतालमा उपचार गराइरहेको छ । सरकारी कोषबाट उपचार गराएको छैन भनिएका बेला कालाव्यापारी, बिचौलिया, माफिया, दलाल उपचार खर्च तिर्न भन्दै कालाधनका बिटा बोकेर वरिपरी घुम्छन् । उनी मात्र होइन, सत्ता सञ्चालनमा पुगेका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, पहुँचवाला नेता र तिनका निकट आसेपासे सयौं व्यक्ति निर्लज्ज रुपमा यसैगरी अपारदर्शी ढंगले राज्यकोषको अर्बौअर्ब रकम स्वाहा बनाउँछन् ।

अनि गाउँदेखि सिंहदरबारसम्मको सत्ता टिकाउनका लागि तिनै गरीब, दीनहीन, आर्तनाद गर्न विवश नागरिकमाथि करको बोझ थोपर्छन् । बारीको कान्लामा काटेको घाँसको डोको गनेर, खोरको कुखुरा, खसी तौलेर, गोठको गाई–भैसीको कल्चौडो हेरेर, जोत्न नारिएको गोरुको जुरो हेरेर, खेतमा झुलेको धान र बारीमा लागेको कोदोको बाला गनेर कर असुल्न गौंडा गौंडामा सत्ता संघीयताको धरापसहितको पासो थापेर बसेको छ । अनि त्यही करदाता नागरिकको उपचारको जब प्रश्न आउँछ, तब अविवेकी सत्ता बर्बराउँछ, तेरो उपचार गर्न सक्दिँन ।

कर नामको रेतीले रेट्न टोले सरकारलाई कुनै बहाना चाहिन्न । जुठ्यानमा साग सप्रिँदा, खलोमा धान थुप्रिँदा, दिमागमा बुद्धि बढ्दा, घट्टमा कोदो पिस्दा, मिलमा धानको भुस खुट्टयाउँदा, खोलोमा पुल तर्दा, भँगालोको फड्केमा पाइलो हाल्दा, अशक्ततामा स्वास्थ्योपचार लिँदा, कलहमा अदालतको पाइलो टेक्दा, बालबच्चालाई शिक्षा दिँदा, वृद्ध बाआमालाई दूध पिलाउँदा जता फक्र्यो त्यतै करको पासो थापिएको छ । कहरको यो सनासोबाट उम्कने कुनै बाटो छैन । घाँटी कसी कसी कर असुल्ने सत्ता सिंहदरबारबाट उर्दी जारी गर्छ, ‘विश्वव्यापी यो महाब्याधीमा म तँलाई उपचार गर्दिन । गर्नै परे मेरो सत्ताका अघिल्तिर लत्रिन पर्दछ । घुँडा टेकेर याचना गर्नुपर्दछ । मेरो अगाडी स्वाभीमान लीलामीमा राख्नुपर्दछ ।’

उसोत ‘कम्युनिष्ट–समाजवादी’ सत्ताको यो पहिलो घोषणा होइन । यसअघि पनि उर्दी जारी गरियो, ‘तिमीहरु अस्पताल नआउ, कोरोनाको लक्षण देखिँदैमा आउने होइन । कोरोना परीक्षणमा पोजेटिभ आए पनि आउने होइन । तिमीहरुलाई उपचार गर्न सक्दैनौं । अस्पताल त्यतिबेला आउ, जब तिमी बेहोश हुन्छौं । घरमै ढल्छौं, होश गुमाउँछौं ।’ कोरोनाको कहरले जब व्यक्ति होश गुमाउने अवस्थामा पुग्दछ, त्यतिबेला तिम्रो उपचार होइन, तिमीलाई एक थान मृत्युको प्रमाणपत्र हात लाग्नेछ । सिंहदरबारमा आसीन यमदूतहरुलाई मृत्यु गणना गर्न एक संख्या थपिने भने निश्चित छ ।

त्यसअघि जब कोरोना रोगले भन्दा यसको सन्त्रासले संसार त्राहीमाम् थियो, नागरिकहरु आ–आफ्ना देश पुग्न भागम्भागको अवस्थामा थिए । बेरोजगारीको भट्टीमा पिल्सिएर नारकीय जीवनबाट मुक्तिको खोजीमा विदेशी भूमिमा पलायन हुन विवश नागरिकलाई स्वदेश फर्काउने न्यूनतम कर्तव्यबाटै चुक्यो यो सत्ता । खाडी, मलेशिया, कोरियाका मृत्यु भट्टीहरुबाट जोगिएर पठाएको रेमिट्यान्सबाट काठमाडौंमा बसेर राज्यको ढुकुटी उराल्ने निर्विवेकीहरु तिनै नागरिक चरम दुःखमा फसेका बेला न्यूनतम कर्तव्यबाट पनि पर भाग्यो । खाडीका ग्याँस च्याम्बर जस्ता कोठामा बसेर आर्तनाद गरिरहेकाहरुलाई स्वदेश ओराल्ने दायित्वबाट बिमुख शासकले अनेकन कहर काटेर नेपाल–भारत सीमामा आइपुगेकाहरुलाई सुरक्षित स्वदेश प्रवेशको व्यवस्था मिलाएन । बरु महिनौं पराई भूमिमा अनेकन कष्ट व्यहोर्न बाध्य बनायो ।

नागरिकप्रति न्यूनतम कर्तव्य नचुकाउने बडेदेखि छोटे सत्ताले मिलिभगतमा गरिएको राज्यकोषको लूट भने राम्रै देखियो । वाइडदेखि न्यारो बडीका जहाज खरिद प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेसदेखि एमआरपी छपाई प्रकरण, कोरोना संक्रमण रोक्ने स्वास्थ्य सामग्री खरिददेखि बालुवाटार जग्गा प्रकरणसम्ममा बिचौलियासँगको साँठगाँठमा राज्यको ढुकुटीमा लूट मच्चाउनेहरुलाई उन्मुक्ति दिने काममा सत्ता नै सरिक बन्यो । नागरिक अधिकार संकुचन गर्ने अनेकन विधेयक ल्याउन किञ्चित संकोच नमान्ने सत्ता नागरिकको प्रवल प्रतिरोधपछि पछि हट्न बाध्य भएका अनेकन प्रकरणहरु हुँदा पनि पटक्कै चेतेन ।

र अनि त्यही नागरिकबाट दुई तिहाईको मत उछिट्टयाएर सिंहदरबारको कुर्सी हत्याएर जवाफदेहीविहीन बाटोमा उद्यत सत्ता सञ्चालकहरु भन्दैछन्, मेरो सामुन्ने स्वाभीमान धरौटी राख । अर्थात् संविधानले नै निःशुल्क सुनिश्चित गरेको स्वास्थोपचारका लागि आत्मसम्मान बेच्न तयार होउ । माफ गर, नवसामन्तहरु म मेरो आत्मसम्मान बेचेर तिम्रा अगाडी घुँडा टेक्न तयार छैन । स्वास्थ्य, शिक्षा र अशक्तताको अवस्थामा राज्यबाट सहयोग पाउनु मेरो जन्मसिद्ध अधिकार हो । यो म र मजस्ता अनेकनले पुस्तौ लडेर आर्जन गरेको स्वतन्त्रता हो । तिम्रा चरणमा आत्मसम्मान गिराएर उपचार होइन, स्वाभीमानयुक्त मृत्यु सहज स्वीकार छ ।

यसैले तिम्रा चाकरीमा स्तुतीभन्दा मेरा लागि गोपाल योञ्जनले गाएको यो अजरअमर गीत सँधै सँधै प्रिय छ,

‘बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाँकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो ।

खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न
घोटिएर हातपाउ झरी जाउन् औँला
तर कोही अगाडि यो हात जोडिन्न ।

म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरष्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सहन्न ।।’

प्रतिक्रिया दिनुहोस्