
दार्चुला, कात्तिक ५ । सदरमुकाम खंलगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ ।
बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।
महाकाली नगरपालिकाका वडा नम्बर-४ र ५ को बजार ‘सिल’ गरिएको भएपनि व्यापारीले कानुनको उल्लंघन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गर्नुभएको थियो ।
महाकाली नगरपालिकामा कोरोनाको संक्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताउनुभयो ।
बुधबारमात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५० नाघेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ ।
नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ ।
सुरक्षा मापदन्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउनुहुन्छ ।
मंगलबारमात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।
जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नम्बर-२, हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइ आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो ।
दशैं, तिहारका कारण बजार क्षेत्रमा भिडभाड भने यथावत् छ । बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भिड बढेको हो ।
भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भिड बढेको छ । पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुंगेपुल खुला गरिएको छ ।
अहिले धनगढी, काठमाडौं र भारतका विभिन्न सहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधै गाउँ पठाइँदा गाउँमा समेत संक्रमणको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्