२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


पचली आजु भैरव जात्रा शुरु


0
Shares

काठमाडौं, कात्तिक ४ । कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली आजु भैरव जात्रा मंगलबारदेखि शुरु भएको छ ।

मंगलबार काठमाडौं भिमसेन स्थान थकु जुजुको घरबाट पचली भैरव मुर्ति रहेको घाम्पोलाई टेकुस्थित पचली भैरव पीठ पुर्‍याएको थियो ।

पचली भैरव जात्रा व्यवस्थापन समितिले कोरोना महामारीका कारण जात्रालाई सिमित पारेको र पचली भैरव मुर्ति बोक्नेहरुलाई पीपीइएको व्यवस्थासहित सुरक्षा मापदण्ड समेत लागु गरेको छ ।

असोज शुक्ल पंचमीको दिन दक्षिण कोलीय ग्राममा मध्य रातमा हुने जात्रा यस वर्ष भने बुधबार पहिलो पटक दिउँसो हुने जनाइएको छ ।

पचली भैरवको जात्रा पचली पीठ, टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु हुँदै हनुमानध्वाखा दरवारमा लगेर जीवित देवी कुमारीलाई शक्ति प्रदान गर्ने चलन छ ।

साथै रुद्रविनायक र अजिमाको समेत जात्रामा सहभागी हुने गर्दछ ।

धार्मिक मान्यता अनुसार भैरव राष्ट्रका रक्षक हुन् ।

त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ ।

लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।