कोरोना संक्रमण पुनः बढेपछि इटालीमा थप प्रतिबन्ध लगाइयो • Image Khabar Image Khabar


कोरोना संक्रमण पुनः बढेपछि इटालीमा थप प्रतिबन्ध लगाइयो


Imagekhabar
३ कार्तिक २०७७, सोमबार ०८:०२

कोरोना संक्रमण पुनः बढेपछि इटालीमा थप प्रतिबन्ध लगाइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा थप प्रतिबन्ध लगाइने भएको छ ।

मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताउनुभएको छ ।

विभिन्न शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।

युरोपका विभिन्न देशमा पनि अहिले संक्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ३६ हजार पाँच सयजनाको ज्यान गएको छ ।

प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत सम्बोधन गर्दै अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको पनि बताउनुभयो ।

सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।

उहाँले विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नु पर्ने नियम लागू भएको बताउनुभयो ।

यस्तै अधिकतम एक समूहमा ६ जना हुन पाउने छन् । स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न रोक लगाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्