
अक्कल कुँवर (इमेज)
काठमाडौं, असार २८ । सर्लाहीमा भएका छुट्टा–छुट्टै हत्या घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले लगातार संसद अवरोध गरिरहेका छन् ।
प्रतिपक्षको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सोमबारसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।
तर, समिति गठन गर्ने विषयमा सहमति भइनसकेकाले सोमबारको बैठक पनि अवरुद्ध हुने देखिएको छ ।
गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेडमा मृत्यु भयो ।
प्रहरीले कुमारको ‘इन्काउन्टर’मा मृत्य भएको दाबी गरेपनि प्रतिपक्षमात्र नभइ सत्तापक्षकै कतिपय सांसदहरुलेसमेत घटनालाई प्रहरीको ‘फेक इनकाउन्टर’ भनिरहेका छन् ।
यस्तै, असार १४ गते क्रसर उद्योगले सर्लाहीको बाँकेखोलामा खनेको खाल्डोमा परी ज्यान गुमाएका १२ वर्षीय अमित राय र असार १५ गते अमितको मृत्युबारे छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले चलाएको गोली लागि मृत्यु भएका सरोजनारायण सिंहको मृत्युबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका छन् ।
सर्लाहीका यी तीनओटै घटनाका विषयमा संसदमा गृहमन्त्री रामबहादुर थापाले जानकारी गराइसकेका छन् ।
तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्ष दल घटनाको सत्यतथ्य छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन् ।
संसदीय छानबिन समिति गठन नगरेसम्म सदन अवरोध कायमै रहने उनीहरुको चेतावनी छ ।
यता, सत्तारुढ दल नेकपाले भने हरेक घटना छानबिनका लागि संसदीय समिति आवश्यक नहुने भन्दै सर्लाही घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान लिएको छ ।
प्रतिपक्ष दलले संसद अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले गत मंगलबार सत्तापक्ष र प्रतिपक्षसँग संसद सुचारु गर्न छलफल गरेका थिए ।
तर, दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि बुधबारको संसद बैठक पनि अवरुद्ध भयो ।
प्रतिपक्षको अवरोधले सोमबारसम्म स्थगित भएको संसद सुचारु गर्न सभामुखले पहल गरिरहेका छन् ।
संसद सुचारु गर्ने विषयमा सभामुखले अनौपचारिक पहल गरिरहेको र संसद बैठक बस्नुअघि सत्तापक्ष र प्रतिपक्षसँग औपचारिक छलफल गर्ने तयारी भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।
तर, सत्ता र प्रतिपक्ष दल एकार्कालाई गलाउने रणनीतिमा देखिएकाले सोमबारका लागि बोलाइएको बैठक पनि सुचारु हुनेमा आशंका कायमै छ ।
प्रतिक्रिया दिनुहोस्