कांग्रेस केन्द्रीय कार्यसमिति ‘बैठक दशैंअघि असम्भव’ (भिडियो रिपोर्ट) « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


कांग्रेस केन्द्रीय कार्यसमिति ‘बैठक दशैंअघि असम्भव’ (भिडियो रिपोर्ट)


0
Shares

nepali congress politics

काठमाडौं, असोज २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा पार्टीको आसन्न १४औं महाधिवेशन थप अन्योलमा परेको छ ।

कार्यतालिकाअनुसार फागुनमा महाधिवेशन गर्नुपर्ने भएपनि हालसम्म पार्टी समायोजनका काम नै सम्पन्न नहुँदा क्रियाशील सदस्यताको जटिलता थपिएको छ ।

तत्काल कार्यसमिति बैठक बसेर पार्टीभित्रको विवाद अन्त्य गर्दै कार्यतालिका संशोधन गर्नुपर्ने भएपनि बैठक दसैंअघि बस्न सम्भव देखिँदैन ।

लथालिंग बनेको महाधिवेशन कार्यतालिकालाई पुनः संशोधन गर्नु नै कांग्रेस केन्द्रीय कार्यसमितिको मुख्य एजेन्डा हो ।

तर, केन्द्रीय नेतृत्व, उनीहरुका सहयोगी, आफन्तहरु तथा केन्द्रीय कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकोले पार्टीले असोज १९ बाट सारेर २५ गतेलाई डाकेको कार्यसमिति बैठक आजसम्म कहिले बस्ने टुंगो छैन ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत दशैंअघि बैठक बस्न सम्भव नभएको बताउनुहुन्छ ।

महाधिवेशनबाहेक भ्रातृसंस्थाहरुको थपिएको म्याद अनुमोदन, केही शुभेच्छुक संस्थाहरुको विधान पारित गर्नुपर्ने, सरकारविरुद्धको भन्डाफोर, संसदको अधिवेशन बोलाउनेलगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ ।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु फिर्ताका लागि दबाब दिन दिएको ‘अल्टिमेटम’मा समेत संस्थापन पक्ष निर्णयमा पुगेको छैन । यसले पनि बैठकको अनिश्चितता बढाएको छ ।

सहमहामन्त्री डा. महत अनौपचारिक छलफलमा धेरै कुरा मिलेको दाबी गर्नुहुन्छ ।

पौडेल समूहले असोज १२ गते विधानसम्मत् पार्टी सञ्चालन गर्न भन्दै एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र केन्द्रीय कार्यालयमा बुझाएको थियो ।

बैठकअगावै विधानविपरीत भनिएका विभाग गठन खारेज, क्रियाशील सदस्यताको विषय, भ्रातृ तथा जनसम्पर्क समितिको विषयलाई मुख्य मुद्दा बनाइएको थियो ।

योबीचमा देउवा पक्षधरले पनि पौडेल समूहको मागका विषयमा छलफल गरेको छ । माग पूरा नभए आन्दोलन चर्काउने पौडेल समूहले योजना बनाएको छ ।

स्रोतकाअनुसार ‘आइसोलेसन’मा बस्नुभएका पूर्वमहामन्त्री अर्जुननरसिंह केसीलगायतका केन्द्रीय नेताहरुको पुनः कोभिड परीक्षण सुरु भएको छ । तर, नतिजा आएको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनबाट बल्ल निस्कनुभएको छ । तर, उपसभापति विजयकुमार गच्छदार सहयोगीमा कोरोना देखिएपछि आइसोलेसनमा हुनुहुन्छ ।

यी विविध कारणले गर्दा शीर्ष नेतृत्वबीच पौडेल समूहको माग र केन्द्रीय बैठक बोलाउने विषयमा अनौपचारिक छलफल भइरहेपनि ठोस निर्णय हुनसकेको छैन । जसले कांग्रेस महाधिवेशन कार्यतालिका थप भद्रगोल बन्दै गएको छ ।