संक्रमित समाजवाद • Image Khabar Image Khabar


संक्रमित समाजवाद


Imagekhabar
२८ आश्विन २०७७, बुधबार ०९:०४

संक्रमित समाजवाद

-लाओस राई

संक्रमण र सक्रमित भने शब्द ज्यादै नराम्रो र डरलाग्दो मानिन्छ आजको सन्दर्भमा । आज तिनै संक्रमण र संक्रमित आचरणकै वारेमा चर्चा गर्न जरुरी देखियो । तर चर्चा शारीरिक रोगसँग सम्बन्धित नभई राजनीतिक विचार र सिद्दान्तको संक्रमण र संक्रमित हुनुसंग सम्बन्धित छ । जुन ढंगले विभिन्न राजनीतिक विचार र पद्दतिहरुको विश्वव्यापीकरण भयो, ठिक त्यसैगरी समाजवादी विचार र व्यवस्थाको पनि विश्वब्यापीकरण भएको हो । आदिम साम्यवाद कै ढांचाको साम्यवाद भन्ने कार्ल मार्क्सले साम्यवाद प्राप्त गर्न मार्ग देखाउंदै भन्ने गरेको साम्यवाद हुन् या त उनकै अनुयाइहरु (मार्क्सवादीहरु) होस, सबैले साम्यवाद कै प्रतिरुप( फोटोकपी) समाजवाद भन्ने धारणा विकास गरेपनि साम्यवाद भन्न कहिल्यै छाडेनन् ।

लक्ष्य टाढा पुग्ने राख्ने तर यात्रा सुरु नै नगर्ने वाम सप्निल मार्ग एक प्रकारको रोगले संक्रमित हो । त्यसको उदाहरण साम्यवाद भन्दै पूंजीवादको बगैंचामा आनन्दित हुने नेपालका कम्युनिष्टलाई लिन सकिन्छ । साम्यवादको गफमात्र गर्नु भनेको आधारभूत पक्षहरु कमजोर गर्नु जस्तै हो । किनकी साम्यवाद भनेको गफ गरेर आउँने चिज होइन । अर्को पक्षको समूल नष्ट नगरी साम्यवादको उदय हुँदै हुँदैन । तथापी विभिन्न चरणहरुले साम्यवादलाई समाजवाद बनायो । संसारमा साम्यवाद भन्ने कतै छैन । तर तानाशाह भने दुईचार देशमा छन् । त्यसमा मार्क्सवादीहरु नै अग्रसर देखिन्छन । त्यहीबाट मार्क्सवादी राजनीतिक विचार पनि अन्य विचारबाट संक्रमित र रोगी बन्न थलाको मान्न सकिन्छ । तिनै संक्रमित विचार, वर्ग संघर्ष र सर्बहारा वर्गको अधिनायकत्वलाई समाजवाद बनायो । यी विचारहरुलाई पनि पूँजीवादीहरुले निरन्तर आक्रमण गरिरह्यो । त्यसको उदाहरण फ्रान्समा ७० दिनको कम्युनिष्ट सत्तालाई लिन सकिन्छ ।

मार्क्सवादी, लेलिनवादी, माओवादी (मालेमावादी) समर्थकहरु र अनुयाइहरुलाई वर्गवीहिन समाज भन्नु र साम्यवाद भन्नु सारमा एउटै हो । साम्यवादी व्यवस्थामा शासक वर्ग हुन्छ भन्ने कुरालाई ढाकछोप गर्दै साम्यवाद र समाजवाद कुरा एकै हो भन्ने विश्वास दिलाए वा भन्न लगाए । दुई भिन्न विचारलाई एकै अर्थ लगाउन थालेपछी तीनै विचार र सिद्दान्तलाई नव-मार्क्सवादीहरुले समाजबाद भन्ने बानी पारे ।

त्यही क्रमले नयाँनयाँ परिस्थितिलाई दोष लगाउंदै साम्यवाद र समाजवादको प्रचार गर्न संसदीय व्यवस्थालाई प्रयोग गर्दै समाजवादी र साम्यवादी व्यवस्थाको खुड्किलो हो भन्न समेत थाले मार्क्सवादी, लेलिनवादी र माओवादीहरु । विश्वमा नभएको प्रयोग नेपालमा भयो । सबै कम्युनिष्टहरु संसदीय रेलमा चढे । जुन रेलको लिगको आधार पुँजीवाद र संसदीय व्यवस्था हो । यो एउटा विचार र सिद्दान्त संक्रमित र रोगी बन्ने चरणको संक्षिप्त टिप्पणी मात्र हो । र समाजवादको संक्रमित अवस्था हो । त्यसका अलावा समाजवाददेखि साम्यवाद रुपान्तरण हुँदा विभिन्न कुरुप, भयंकर र विभत्स पक्षहरु धेरै छन् । त्यसको बारेमा चर्चापछि गर्दै गरौंला ।

१८४८ देखि मार्क्सवादी विचारको हुण्डरी चल्न थाल्यो । त्यसबेला मार्क्सवादी विचारसंग विश्व थर्कमान जस्तैभए भन्ने विश्व इतिहासले देखाउंछ । त्यही समयको आसपास बेलायतमा फेवियन समुदायका एक पूर्व सैनिकले मार्क्सवादी हुण्डरीलाई रोक्न फेवियन विचारको थालनी गरे । ती नितान्त फेवियन सम्प्रदाय विशेषको विचार थियो । पछी त्यही धारणा, समाजबादी विचार, सिद्दान्त र ब्यवस्था वन्यो । जुन विचारलाई फेवियन समाजवादको नामले चिनियो । फेवियन समुदाय विशेष र सैन्यवादी विचारलाई प्रचार गर्न जर्ज बर्नाड शा, ग्राहम वेलासले धेरै मेहेनत गरेका समाजवादी आन्दोलनको इतिहासले देखाउँछ ।

वर्ग संघर्ष र सामाजिक क्रान्तिलाई अस्विकार गर्ने फेवियनहरुले पुँजीवादी यात्राबाटै समाजवादमा पुग्न सकिन्छ भन्ने मान्यतामा जोड दिएको हुन्नाले पूँजीपती, सामन्ती र पुर्व सैनिक र कर्मचारीहरुको समूह भन्ने उनीहरुमाथि आरोप छ । समयको परिवर्तनसंगै फेवियन विचार समाजबादीहरुको महाविद्यालय बन्यो । यद्यपी, फेवियन समाजवादलाई उद्विकासवादी विकासको सिद्दान्त कै प्रतिरुप मानिन्छ । त्यस्तो मन्द र निरन्तर विकासको कारण नै फेवियन समाजवादलाई ठालु, सामन्ती र अवसरवादीहरु जीवित रहने राजनीतिक हतियार हो, भन्दछन् क्रान्तिकारीहरु ।

समय चक्रले साम्राज्यवादी ब्यवस्थाका संरक्षक बेलायतलाई समाजवादी शिक्षा दिने अवस्थामा पुर्‍यायो । विश्वभरीका उच्च कुलघराना, माथिल्लो तहका कर्मचारीका छोराछोरीहरुले फेवियन समाजवादका सैदान्तिक, वैचारिक र ब्यवहारिक पाठ पढ्न सुरु गरे । ब्रिटेन समाजवादी विचारको केन्द्रबिन्दु बन्यो । उपनिवेशबाट स्वतन्त्र भएका र उपनिवेश विरुद्द संघर्षरत मुलुकका नागरिकहरुलाई पनि वेलायतले फेवियन समाजबादी विचार सिकाए । त्यसको विद्यार्थी भारत बन्यो, १९४७ मा भारत स्वतन्त्र भयो । भारतीय उच्चकुलघरानाका सदस्यहरु समाजवादी विचारको प्रचारक र संरक्षक भए जो बेलायती फेवियन विचारबाट दिक्षित थिए । वेलायतले फेवियन ढांचा कै राजनीतिक ब्यवस्था लागु गर्न नयाँ नयाँ नीति लागु गर्न थाले । पहिलो कुरा भारत स्वतन्त्र भयो । दोस्रो भारत विभाजन पनि संगै भयो । यो नीति बेलायतको योजना थियो ।

त्यति मात्र होइन अर्को घटना पनि उत्तिकै महत्वपूर्ण मान्न सकिन्छ । भारतीय कांग्रेस पार्टीमा उत्पन्न भएको समाजवादी समूह र पुंजीवादी समुहको चरम संघर्ष जसले कांग्रेस पार्टीबाट समाजबादी समुहलाई अलग समेत गराए । पूँजीपति ब्यवस्थाको नेतृत्व जोहारलाल नेहरुले गरेका थिए । उनी स्वयं प्रधानमन्त्री थिए भने समाजबादी समूहमा रामनोहर लोहिया, सरदारभाइ पटेल जस्ता समाजवादीहरु थिए । यो प्रसङ्ग किन उल्लेख गरेको हो भने जसरी समाजवाद विकासित हुँदै भारतसम्म आइपुग्यो,त्यही क्रममा समाजवाद धनीहरुले गरिवलाई फकाउने दरिलो अस्त्र बनिसकेको र उच्च कुलघरानाका बुज्रुकहरुको राजनीतिक अस्तित्व जोगाउने मंच बनिसकेको देखिन्छ र थियो । भारतीय समाजवाद गरिवको लागि आर्थिक समता दिनुभन्दा उच्च कुलघरानाको पण्डितहरुले नै आफ्नो हितको लागि प्रयोग गर्दै संक्रमित र रोग लागिसकेको रहेछ भन्ने सन्दर्भमा मात्र भारतीय राजनीतिका बारेमा यहाँ उल्लेख गरेको हो ।

नेपालको सन्दर्भमा समाजवाद र यसको संक्रमण, संक्रमित अवस्था, रुपान्तरण र संस्थागत विकासको चर्चा गर्दा पहिलो चरणमा नै नेपाली कांग्रेसको प्रसंग आइहाल्छ, आउनु पनिपर्छ । किनकी समाजवादको जननी भन्नु नै नेपाली कांग्रेस हो । त्यसमा पनि विपी कोइराला हुन । त्यसैले नेपाली कांग्रेससंग समाजवाद जोडिनु स्वभाबिक हो । वि.स. २०१२ सालमा सम्पन्न महाधिवेशनले समाजवाद र प्रजातन्त्र एकै ब्यवस्थामा सम्भव छ भन्ने नमूना देखाउंदै नेपाली कांग्रेस समाजवादी पार्टी बन्यो । तत्कालिन समयमा समाजवाद कांग्रेसको निम्ति दुई तिहाइको सरकारको आधार बन्यो । समाजवादको बाटोले विपी कोइरालाई देशको बलियो प्रधानमन्त्री बनायो । धेरै सुधारका कामहरु प्रारम्भ भए । जनता पनि उत्साहित नै थिए त्यो भन्दा बढी आशावादी पनि । तर जब समाजवाद ब्यवहारमा उतार्ने बेलाभयो विपीले समाजवाद गरिवहरुको बिचमा खोज्ने होइन यो त धनीहरुको बिचमा समानता खोज्ने हो भन्ने खालको अभिव्यक्ति दिए । फेरी फेवियन विचारकै अनुआयी विपीले धनीहरुलाई खुशी बनाउनु, धनीहरुको विचमा समानता खोज्नु नै समाजवाद हो भन्नुलाई अन्यथा लिन पनि सकिदैन ।

किनकी फेवियनहरु नै धनी र सामन्तीहरुको पक्षमा थिए भने नेपालको कुरै भएन । त्यसको स्वरुप नै मिलीजुली वा क्रमस खालको थियो । त्यसको स्वरुप माथि नै उल्लेख भैसकेको छ । ठिक त्यसैबेला कांग्रेस पार्टी त धनीहरुको पार्टी भन्ने हल्ला फैलन थाल्यो । हल्ला ब्यवहारमा उत्रिदै गयो । त्यसले जनमत ध्रुविकृत हुन थाल्यो । फलस्वरुप धनी सिध्याउने पार्टीहरु संगठित हुँदैगयो । ति संगठित समूह (कम्युनिष्ट)हरु र पार्टीको दोहोरो चरित्रको कारण दरवार बलियो बन्नगयो फलस्वरुप २०१७ सालमा सिंगो प्रजातन्त्रको हत्या भयो ।

यो प्रसङ्ग उल्लेख गर्न किन उपयुक्त देखिन्छ भने, २०१५ सालसम्म कांग्रेस समाजवादी पार्टी थियो । त्यसैले गरिव जनताको चौतारी बन्यो । कांग्रेस पार्टी नै सबैखाले वर्ग समूदायको साझा चौतारी हो । कांग्रेसले सबैलाई शितलता दिन्छ । कांग्रेसी समाजवादले समानता प्रदान गर्छ भन्ने विश्वस रहेसम्म कांग्रेससंग जनता थिए । भविष्यमा पनि रहन्छ नै । तर जव कांग्रेसी धनी, ठालु र सामन्तीहरुको मैदानमा उफ्रिन थाल्छन् वा प्रयास गर्छन् त्यसबेला कांग्रेससंग गरिव जनता हुँदैन । त्यसको मतलव सत्ता पनि हुँदैन । सत्ताको लागि साधारण जनताको साथ कति महत्वपूर्ण हुन्छ भन्ने कुरा २०७४ को निर्वाचनले देखाउंछ । जनता बिना सरकार सत्ता सम्भव छैन । तर सामन्त र पुँजीपति बिना सत्ता सम्भव छ । इतिहासले पनि त्यस्तै बोल्छ ।

जुन बेला कांग्रेसले जनताको नेतृत्व गर्‍यो त्यस बेला कांग्रेस सत्तामा पुगे कै छ । तर अहिले कांग्रेसले गुट, वंश, विरासत, नाता प्रणालीको नेतृत्व गर्दैछ भने कांग्रेससंग सरकार र सत्ताको जम्काभेट हुने कुरै हुँदैन । यो कल्पना भन्दा बाहिरको कुरा हो । सबैले बुझे हुन्छ । यो अवस्था भनेको वंश परम्परा, नाता प्रणाली र सामन्तीहरुको व्यक्तिगत स्वार्थको जन्जिरको घेराबाट बाहिर आउनु नसक्नु, कांग्रेस पूर्ण रोगी, बुढो र पिंढीविचारी भएको प्रमाण हो । वैचारिक र राजनीतिक रुपले संक्रमति समाजवादको नेतृत्व गरेपछी उत्पन्न भएको पछिल्लो एउटा उदाहरण थियो ।

आर्थिक पाटोको कुरा गरिरहंदा २०६२ पछि नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवाद भन्न थाल्यो । आर्थिक समानता भन्दा ब्यतिगत स्वतन्त्रता र सामाजिक न्यायको पक्षलाई विशेष महत्व दिइ निरन्तर अघि बढ्यो । गरिवको जीवनस्तर माथि उठाउने काम गर्नुभन्दा लोकतान्त्रिक समाजवादलाई कांग्रेसी सिमित परिवारको उत्थान गर्ने काममा उपयोग गरे । त्यसले गर्दा कांग्रेससंग गरिव जनताको सम्बन्ध टाढिन पुग्यो । यसलाई छिमेकी देश भारत कै अवस्था बुझ्दा हुन्छ । समाजवादको पथमा हिडेको भारतीय कांग्रेस पार्टीको कस्तो अवस्था छ । त्यही हवीगत नेपाली कांग्रेसको होला कि भन्ने चिन्ता बढ्दो छ ।

पारिवारिक शक्ति संघर्षको प्रयोगशाला बनेको कांग्रेस आईले समाजवादी विचार छोड्दा आमा–छोरा, दिदीवहिनी लगायत आसेपासेको व्यक्तिगत विकास त भयो । तर कांग्रेस आईको अवस्था के छ । त्यो घटनावाट पाठ सिक्ने कि नसिक्ने पार्टी सभापति शेरबहादुर देउवाले ? विचार पुर्‍याउने कि नपुर्‍याउने ? कांग्रेसको नेतृत्वको रेसमा हिडेंकाहरुले त्यो बुझ्ने कि नबुझ्ने ? बेलायतमा फेवियन स्कुलका विद्यार्थीहरुले ठालु, पूँजीपति सामन्तीहरु र पूर्व कर्मचारी मात्रै खोज्दा सन् १९०० मै फेवियन समाजवादी पार्टी लेवर पार्टीमा बिलय हुन पग्यो । कांग्रेसले पनि ठालु, पुँजीपति, सामान्ती र विरासत मात्रै खोजिरहने हो भने वेलायती फेवियन समाजवादी पार्टीको जस्तै अवस्था नआउला भन्न सकिन्न । त्यसैले समाजवाद अर्गानिक हुनुपर्‍यो संक्रमित होइन । पार्टी जनताको हुनुपर्‍यो सन्तानको होइन । संक्रमित पार्टी र पुस्ताले न समाजवादलाई जोगाउनु सक्छ न पार्टीलाई । संक्रमित व्यक्तिले संक्रमण मात्र फैल्याउँछ । समाजवादलाई संक्रमणबाट जोगाउनु पर्‍यो । त्यसमा नै सबैको भलो छ । अन्यथा जता हेर्‍यो संक्रमण नै संक्रमण ।

प्रतिक्रिया दिनुहोस्