
काठमाडौं, असोज २६ । कोरोना भाइरस नोट, फोन स्क्रीन तथा स्टीलमा २८ दिनसम्म रहन सक्ने अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायका अनुसार कोरोना भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्छ ।
यसअघिको अध्ययनमा यो भाइरस नोट वा सिसाको सतहमा २ देखि ३ दिनसम्म र प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो ।
अनुसन्धानका क्रममा फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो ।
यो अनुसन्धान भाइरसलाई अनुकूल हुने तापक्रम, आर्द्रता घटबढ नहुने र अँध्यारो कोठामा गरिएको हो ।
तर भाइरस नोट वा फोन स्क्रीनबाट कति सर्छ भन्ने निश्चित छैन ।
कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का व्यक्त गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर अनावश्यक त्रास फैलने बताएका छन् ।
गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्