आम्दानी गुमाएकालाई चाडपर्व खर्च उपलब्ध गराउन माग • Image Khabar Image Khabar


आम्दानी गुमाएकालाई चाडपर्व खर्च उपलब्ध गराउन माग


इमेजखबर
२६ आश्विन २०७७, सोमबार १९:५०

आम्दानी गुमाएकालाई चाडपर्व खर्च उपलब्ध गराउन माग

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले चाडपर्व मनाउन नसक्ने विपन्न परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

कोरोना संक्रमणका कारण आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई १० हजार रुपैयाँका दरले चाडपर्व खर्च उपलब्ध गराउन माग गरिएको हो ।

युनियनले निम्न आय भएका गरिब परिवारको लगत संकलन गरी सामाजिक सुरक्षा भत्ताकोरुपमा निर्वाह खर्चवापत् प्रत्येक महिना प्रतिपरिवार सात हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न माग गरेको छ ।

यस्तै, श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गर्न तथा स्वरोजगार मिडियाको प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र ‘क्निफिड’ तत्काल लागू गर्न युनियनको माग छ ।

श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्नपनि युनियनले सरकारसँग माग गरेको छ ।

विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकोमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीहरुलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुलउपर गर्ने कानुनी व्यवस्था गर्नपनि माग गरेको छ ।

विदेशमा अलपत्र नागरिक स्वदेश फर्काउँदासमेत राजनीतिक भेदभाव, पहुँच र आस्थाको आधारमा व्यवस्थापन गरिएको गुनासो आएकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

अलपत्र नागरिकहरुको उद्धारका लागि कल्याणकारी कोषको रकम परिचालन गर्न सरकारसँग माग गरिएको छ ।

अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुको विनाभेदभाव निःशुल्क उपचार र २५ लाखको बिमाको व्यवस्था गर्नपनि कांग्रेसको ट्रेड युनियन विभागले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्