ब्लगः जब रिपोर्ट पोजिटिभ आयो शरीर नै शितांग भयो • Image Khabar Image Khabar


ब्लगः जब रिपोर्ट पोजिटिभ आयो शरीर नै शितांग भयो


Imagekhabar
२६ आश्विन २०७७, सोमबार १३:२२

blog corona pragya timalsina

प्रज्ञा तिमल्सीना

श्वास फर्न निकै समस्या भइरहेको थियो। शरीरबाट समयसमयमा पसिना आउने, चिसो हुने, छाती ढक्क फुलेको जस्तो हुने समस्याबाट त्यो दिन निकै गाह्रो भयो। आफुलाई के भइरहेको छ थाहा पाउन नै मुस्किल भइरहेको थियो। लक्षणहरुले अति नै सताउन थालेपछि एकजना चिकित्सकलाई फोन गरे।

‘तपाईको अक्सिजन लेभल कति छ ? नाप्नु भयो।’ उताबाट प्रश्न सोधियो।

त्यसपछि नजिकै रहेको अक्सिमिटरमा औंला राखें। हतारहतार नाप्दा अक्सिमिटरमा ‘८७’ अंक देखियो। उनलाई पनि यही अंक भने।

चिकित्सकले एकैछिन अक्मकाउदै पुन सोधे, ‘कति भन्नुभयो ?

मैले फेरि भने ८७।

ब्लगः जब रिपोर्ट पोजिटिभ आयो शरीर नै शितांग भयो

त्यसपछि उनले मलाई आतिँदै घोप्टो परेर सुतिहाल्न आग्रह गरे।

मलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएदेखि नै ती चिकित्सकसँग सरसल्लाह लिने काम हुन्थ्यो। अक्सिजन लेभल कम भएको भनेपछि फोन राखेर उनले भने जसरी सुत्ने प्रयास गरे। दिमाग ब्ल्यांक थियो। केही नसोची सुतिहालें।

३० मिनेट पश्चात उनी आफैले फेरि फोन गरे। हालखबर सोधे। र फेरि अक्सिजनको लेभल नाप्न भने। अक्सिमिटरमा ९० देखायो।

उनका अनुसार कोरोना संक्रमण देखिएको व्यक्तिमा अक्सिजनको मात्रा ९० भन्दा कम हुनुहुँदैन। अक्सिजन लेभल ९० भन्दा कम भयो भने संक्रमितको अवस्था डरमर्दो हुन सक्छ। संक्रमितलाई अस्पताल नै भर्ना गर्नुपर्छ।

‘फेरिपनि अक्सिजन लेभल कम भयो भने तपाई अस्पताल नै जानुपर्छ’ उनले भने।

त्यसपछि के थियो र मनको बाघ हावी हुन थाल्यो। एकाएक मन डराउन थाल्यो। मुटु जोडसँग घड्कन थाल्यो। खुट्टा काम्न थाल्यो । मनमा अनेकौं कुरा खेल्न थाल्यो। धेरैजसो नकारात्मक। सोचें–कोरोना कै कारण मर्छु होला।

विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीको शरीरमा अक्सिजनको मात्रा कम भई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। विराटनगरबाट अकस्मात शिक्षण अस्पताल ल्याएर अस्पताल भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको समाचार आफैले लेखेको थिए। डा. कार्कीको उपचारका लागि भारतबाट औषधि ल्याएर गरिएको थियो। त्यसपश्चात प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।

आफैले लेखेको सुनेको कुरा आफैलाई नै पर्दा ती सबै दृश्य दिमागमा चल्न थाल्यो। आज आफैलाई अक्सिजन लेभल कम भएको छ। अब यस्तै भए अस्पताल जानु पर्छ भन्ने कुराले थप तनाव दिएको थियो। संक्रमणपछिको समस्या, उपचार विधिका प्रश्न त उब्जिने नै भयो।

ब्लगः जब रिपोर्ट पोजिटिभ आयो शरीर नै शितांग भयो

संक्रमण पुष्टि भएपछि म आइसोलेसनमा बसें। बसिरहेको कोठामा हावा छिर्ने सम्भावना निकै न्यून थियो। न कतैबाट उज्यालो प्रकाश नै आउँथ्यो। दिउँसो नै बत्ती बालेर बस्नु पर्ने। कतै यही कारणले त मनमा समस्याहरुको पुञ्ज उत्पनन्न भएको त होइन भन्ने पनि लाग्यो।

त्यसदिन राति पनि निकैबेरसम्म श्वास फेर्न समस्या भएको जस्तै भयो। कोरोना संक्रमणका कारण मृत्यु भएका खबरहरुले झनै डराउने भइयो। मन आत्तिने हुँदा समय समयमा अक्सिजन नाप्न थाले। त्यसरात म राम्रो सँग निदाउन सकिन।

रातको १ बजे। निदाउन नसकेर म आइसोलेसनबाट मास्क लगाएर बाहिर निस्के। करिब आधा घण्टा बाहिर नै बसे। मध्यरातको चिसो हावाले मनले केही शान्ती पायो। पुनः अक्सिजन लेभल हेरें, ९२ रहेछ। अब यो रात त म जसरी पनि कटाउँछु। केही हुन्न होला भन्ने लाग्यो।

अति गाह्रो भएको दिन कोठामा फर्के र केही समय निदाएँ। भोलि आँखा खुल्दा ८ बजेको थियो।
समस्या झनै थपियो। राति श्वासमात्रै फेर्न गाह्रो भएको थियो। अब त टाउको निकै दुख्यो। आँखा हेर्न नसक्ने भयो। मसँगै संक्रमण पुष्टि भएर आइसोलेसनमा आएकाहरुले नि त्यस्तै लक्षण सुनाए। धेरै जनाले हावा छिर्ने कोठामा सर्न सल्लाह दिए। कोठा सरें। हावा छिर्ने कोठामा सरे पश्चात पुनः समस्या देखिए अस्पताल जाने सोच बनाएको थिएँ। कोठा सरे पश्चात भने मेरो अक्सिजन लेभल बढ्न थाल्यो। लेभल ९० भन्दा माथी नै देखियो।

कोरोनासँगै डराएको मन

चैत्र १० गते स्वास्थ्य मन्त्रालयले अकस्मात पत्रकार सम्मेलन आयोजना गरेको थियो। सम्मेलन गर्न बोलाइएको कक्षमा पत्रकारको भिडभाड थियो। संक्रमणलाई मध्यनजर गर्दै सरकारले कुनै सभा सम्मेलनमा २५ जनाभन्दा बढी भिडभाड नगर्नु भनेको थियो। तर मन्त्रालय आफैले आयोजना गरेको सम्मेलनमा त्यो पालना भएको देखिएन। अकस्मात आयोजना गरिएको पत्रकार सम्मेलनको महत्वलाई बुझेर म पनि मन्त्रालय पुगेको थिएँ।

पत्रकार सम्मेलनमा मन्त्रालयका तत्कालिन प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित पहिचान भएको सूचना भन्दै गर्दा मेरा खुट्टा कामेका थिए। नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएको सूचनाले अब त कोरोना लागेको उक्त युवती कसरी बाँच्न सक्छिन् होला, स्वास्थ्यमा कस्तो समस्या देखिएको होला, कति गाहो हुन्छ होला ? लगायतका प्रश्नहरु मनमा उब्जिएका थिए। करिब ६ महिनापछि आफू नै संक्रमित हुँदा ती प्रश्नहरुले छोडेन । न मेरो खुट्टा नै काप्न छाड्यो।

पेसाले पत्रकार। स्वास्थ्य बिटमा रिपोर्टिङ गर्ने भएको हुनाले संक्रमण देखिएसँगै कोरोना भाइरसको असरबारे धेरै समाचारहरु लेखें। दोस्रो संक्रमित देखिएसँगै लकडाउन भयो। तर नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गयो। संक्रमितको संख्या बढेसँगै भाइरसप्रतिको त्रास समेत बढ्दै गएको थियो। त्यो समयमा छिमेकी देश भारतसँगै अमेरिका, इटाली, स्पेन जस्ता देशहरुमा संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको थियो। त्यसैले हाम्रोमा नि कोरोनाको डर बढ्नु पनि स्वाभाविक नै थियो।

नेपालमा बैशाखदेखि संक्रमितको संख्या उकालो लाग्न थाल्यो। लकडाउन थियो। तर काम त गर्नै पर्‍यो। बाहिर जान, हिँड्नसमेत डर बढ्न थालेको थियो। तर कामले घरभित्र बस्ने अनुमति दिएन। बाहिरिँदा विभिन्न अस्पतालमा पुग्ने र चिकित्सकसँगको भेटघाटको क्रम चलि नै रहयो। मनमा भने मलाई पनि कोरोना भयो भने के गर्ने हो ? अस्पताल पुग्दा कोरोना पनि सर्‍यो कि, कोरोना बोकेर पो हिँडेको छु कि जस्ता डर रहि नै रह्‍यो।

जेठको अन्तिमतिर बनस्थलीमा एक जनामा संक्रमण देखिएको सूचना बाहिएरसँगै घरबेटीले कार्यालय जाँदा पनि ठूला आँखा पारेर हेर्न थालेका थिए। अब कोरोना नै बोकेर घर आउने भई भन्ने लागेको होला सायद।

वनस्थली हुँदै घर जानु पर्ने। त्यसमाथि अस्पतालको चक्कर लाउनैपर्ने। उनको मनमा डर उत्पन्न हुनु स्वाभाविक नै थियो।

काठमाडौ उपत्यकामा लकडाउन खोलिएसँगै साउन ७ गतेपछि संक्रमितको संख्या झनै बढ्न थाल्यो। सरकार कोरोना नियन्त्रण गर्न विकल्पहीन त थियो नै जनता अटेरी। डर झन बढ्न थालेको थियो।

जब कोरोनासँग जम्काभेट भो

एउटा कार्यक्रममा मसँग सम्पर्कमा आउनु भएको एक व्यक्तिमा कोरोना संक्रमण देखिएदेखि नै सेल्फ आइसोलेसनमा बस्न शुरु गरेको थिएँ। आइसोलेसनमा बसेको दिन नै स्वाद हराउन थालेको थियो। मुख तीतो हुने , खानेकुराको स्वाद जिब्रोले टिप्न छाड्यो।

कोरोना संक्रमणका कारण नुन र चिनीको स्वाद जाने सुनेको थिएँ। कन्फर्म गर्न स्वाद नुन र चिनी खाए। कुनै स्वाद आएन। ५ दिन खानेकुराको स्वाद चाल पाउन सकिएन।

अन्य लक्षणले समेत छोडेन। शरीर एकदमै दुख्ने समस्या थपियो। दुखाईका कारण हिँड्न, बस्न समस्या हुनै नै भयो। समय समयमा घाँटी चिलाउने, खोकी लाग्ने, नाक पोल्ने जस्ता लक्षण देखा पर्न थाल्यो। मलाई भइरहेको समस्या कोरोना संक्रमणकै लक्षण थियो। मलाई पनि कोरोना संक्रमण नै भएको हुनसक्ने निर्क्यौल गर्न गाह्रो भएन।

तर, मन नै त हो। सामान्य फ्लू होला, कोरोनाको लक्षण होईन होला भन्ने नि लाग्यो। परीक्षण बिना कसरी थाहा हुनु र ?

त्यसैले ती व्यक्तिसँग सम्पर्कमा आएको पाँचौं दिनमा कोरोना परीक्षण गरें। परीक्षण गरेको तीन दिन पश्चात मात्र नतिजा आयो।

कोभिड १९ रिपोर्ट आयो – पोजिटिभ।

रिपोर्ट देख्ना साथ शरीर काम्न थाल्यो। हात खुट्टाबाट पसिना आउन थाल्यो। लक्षण देखिएको र कोरोना नै देखिन्छ भन्ने धारणा बनाएको थिएँ। तर पनि रिपोर्ट पोजिटिभ देखिएपछि मन थाप्न नै सकिन।

संक्रमण देखिए पश्चात पुनः आइसोलेसनमा बस्नु बाहेक अरु विकल्प थिएन। संक्रमण भएको समयमा मलाई पाँच दिनसम्म लगातार पखाला लाग्ने, खान नरुच्ने, जिउ एकदम दुख्ने समस्या देखा परे।

कोरोना संक्रमणलाई जित्न प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारको निकै गुनगान गाउनु भएको थियो। बेसारले कुनै हदसम्म राम्रो पनि गर्छ होला। तर मैले भने बेसार प्रयोग नै गरिन।

बिहान र बेलुका शारीरिक व्यायाम गर्ने, आत्मबल बढाउने र मनमा सकारात्मक कुरा मात्रै राख्ने गर्ने हो भने कोरोना संक्रमण जित्न सकिन्छ भन्ने बुझें। त्यसै गरें। अन्ततः शनिवार म कोरोना संक्रमण मुक्त भएँ।

होम आइसोलेसनमा बस्न निकै समस्या

हाल देशभर संस्थागत आइसोलेसनमा बस्नेभन्दा होम आइसोलेसनमा बस्नेको संख्या धेरै छ। तर काठमाडौमा होम आइसोलेसनमा बस्न भने निकै समस्या। अधिकांश कोठा भाडामा लिएर बसेका छन्। कतिको त शौचालय, धारा सबै संयुक्त रुपमा प्रयोग गर्नु पर्ने बाध्यता छ।

म बस्ने घरमा १० बर्ष मुनीका बालबालिका भएका कारण घरमा नै बस्न उपयुक्त लागेन। त्यसकारण होटल आइसोलेसनमा बसे। चिकित्सकको निगरानीमा बस्न पाउने भएका कारण होटल उपयुक्त लाग्यो। अलिअलि गरेको सेभिङ अहिले काम लाग्यो।

राम्रो सुविधा प्रयोग गरेर नै १५ दिन होटल आइसोलेसनमा बसें। जसका कारण अन्य व्यक्तिलाई कोरोना सरेन भनेर म विश्वस्त छु। मसँग केही सुविधा थियो र म होटल आइसोलेसनमा बसें। तर अहिले होटलमा कोठा पाउन निकै गाह्रो छ। त्यसमाथि अस्पतालमा बेड नपाउने, भेन्टिलेटरको अभाव कायमै छ। होम आइसोलसनमा बस्न नमिल्ने धेरैले कोरोना अन्यलाई सारिरहेका समेत छन्।

बजार अझै भीडभाडमा रम्दैछ। सरकार आइसोलेनसहित अस्पतालको भौतिक सुविधा बढाउन लागेको देखिँदैन। जसका कारण पनि काठमाडौ उपत्यकामा संक्रमणको दर बढेको छ भने संक्रमण समुदाय स्तरमा नै पुगिसकेको छ।

म सतर्क हुँदाहुँदै पनि कोरोनाले संक्रमित बनायो। तर अहिले सतर्कता अपनाएर मात्रै हुने अवस्था छैन। समुदायस्तरमा नै संक्रमण फैलिसकेको अवस्थामा कोरोनासँग लड्दै त्यसलाई नियन्त्रण गर्न विकल्प, संक्रमितहरुको उपचारका लागि तयारी गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने बेला भइसकेको छ।

ब्लगः जब रिपोर्ट पोजिटिभ आयो शरीर नै शितांग भयो
प्रतिक्रिया दिनुहोस्