Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


संसद फेरि अवरुद्ध, प्रतिनिधिसभालाई सरकारको छाया बनाइयो : गगन थापा


0
Shares

काठमाडौं, असार २५ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेवित्तिकै प्रतिपक्ष दलका सांसदहरुले विरोध गरेका थिए ।

सर्लाहीमा यही असार ५ गते प्रहरीको गोली लागेर मृत्यु भएका कुमार पौडेलको हत्याको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरी मंगलबारदेखि प्रतिपक्ष दलका सांसदहरुले बैठक अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षको अवरोधकैबीच सभामुख महरा कार्यसूचीमा प्रवेश गरेपछि प्रतिपक्षका सांसदहरुले ‘रोष्ट्रम’ घेराउ गरेका थिए ।

रोष्ट्रम घेराउकैबीच सभामुखको निर्देशनानुसार प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देश पठेर सुनाए ।

सचिव योगीले प्रतिनिधिसभाबाट उत्पत्ति भइ राष्ट्रियसभा गएका चारओटा आर्थिक विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देश सुनाए ।

आरोप

यसैबीच, प्रतिपक्ष दलका सांसदहरुले सभामुख सरकारको आदेशपालनकर्ता भएको आरोप लगाएका छन् ।

सन्चारकर्मीहरुसित कुरा गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्ष सांसदले विरोध गर्दा पनि सभामुखले बोल्न नदिएको र प्रतिनिधिसभालाई सरकारको छाया बनाएको आरोप लगाए ।

उनले संसदीय समिति गठन गर्ने मंगलबारको आफ्नै प्रतिबद्धताबाट सभामुख पछि हटेको जिकिर गरे ।

तर, सत्तारुढ दल नेकपाका सांसद झलनाथ खनालले प्रतिनिधिसभा नियमावलीअनुसार नै चलिरहेको भन्दै अनावश्यक कुरामा संसदीय समिति गठन गर्न नसकिने बताए ।

सभामुख महराले संसदीय समिति गठनका लागि पहल गरेपनि सत्तारुढ दल नेकपाले मंगलबार असहमति जनाएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो १ बजे बस्नेछ ।