Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


कांग्रेसको महाधिवेशन आगामी फागुनमा हुने सम्भावना कमजोर बन्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समयमा नहुने देखिएको छ ।

केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेकाले सभापति शेरवहादुर देउवाको कार्यकाल एक वर्ष थप्नबाट रोक्ने सक्ने अवस्था पनि देखिंदैन । यसले गर्दा पनि फागुनमा गर्नु पर्ने महाधिवेशन लम्बिने देखिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै छ ।

तर, संस्थापन पक्ष नियमित समयमा महाधिवेशन गर्न अनिच्छिुक देखिएको आरोप इतर समूहले लगाएको छ ।

फागुनमा नियमित महाधिवशेन हुनुपर्ने भए पनि त्यसका लागि कांग्रेस सामु थुप्रै चुनौती देखिएका छन् ।

कांग्रेसमा अधिवेशन ७७ जिल्ला र केन्द्रमा मात्र समिति छन् । संशोधित विधानले कांग्रेसको वडादेखि केन्द्रसम्म गरी आठ तहको संरचना हुने व्यवस्था गरेको छ ।

जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टी संरचना हुनुपर्छ ।

यी संरचनाको टुंगो नलागि महाधिवेशन हुने सम्भावनासमेत नदेखिँदा संस्थापन पक्षले त्यसको तयारी नगरेको इतर समूहको आरोप छ ।

अब संस्थापन पक्षले चाहेर पनि आगामी फागुनमै महाधिवेशन हुने सम्भावना नरहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने संरचना नभएकाले कांग्रेसले चाहेर पनि नियमित समयमा महाधिवेशन गर्न सक्ने अवस्था नदेखिएको हो ।

महाधिवेशनमा जानका निम्ति क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि वडा समितिले सिफारिस गर्नुपर्छ ।

तर सदस्यता वितरण र नवीकरण गर्न तलको संरचना निर्माण नहुँदा अब चाहेर पनि नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्था देखिएको कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल बताउँछन् ।

संस्थापन इतर समूहले नियमित समयमै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिँदै आएको छ ।

केन्द्रीय महाधिवेशन हुनुअघि सात वटा तहको अधिवेशन गर्नुपर्ने र ती अधिवेशन गर्न कम्तिमा तीन महिना लाग्ने भएकाले समयावधिभित्रै महाधिवेशन हुन नसक्ने बुझाइ नेताहरुको छ ।

नियमित समयमा गर्न नसकिने भए पनि त्यसको तयारी भने थालिहाल्नुपर्ने सो समूहको भनाइ छ ।

महाधिवेशनको तयारीका लागि तत्काल तल्लो तहको संरचना निर्माण सुरु गरिहाल्नुपर्ने पौडेलको धारणा छ ।

उनले नेतृत्व तहले यसरी ढिलासुस्ती भईरहँदा नेतृत्वमाथि आशंकाको वातावरण रहिरहने बताए ।

कांग्रेसले आगामी भदौ पहिलो साताभित्रै पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारको तयारी गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भदौ पहिलो साताभित्रै निर्वाचन प्रक्रियामार्फत् पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तार गर्ने बारे छलफल भएको थियो ।

असार २७ गते बस्ने बैठकले विधानअनुसार अन्तरिम अधिवेशनमा जाने निर्णय गर्ने नेताहरु बताउँछन् ।

केन्द्रीय कार्यसमिति बैठकले नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली पारित गरेपछि विधानतः संरचना निर्माणको बाटो खुल्ने छ । नियमावली टुंगिसकेपछि मात्रै विधानले संरचना निर्माणका लागि मार्ग प्रशस्त गर्ने छ

कांग्रेसको संस्थापन पक्षले रिक्त रहेका संरचनाको पूर्णता दिने कार्यलाई १४ औं महाविधेशनको प्रस्थानविन्दु भएको दाबी गरिरहेको छ ।

यद्यपी संस्थापन इतर पक्षले भने रिक्त संरचनालाई पूर्णता दिने काममा भइरहेको ढिलाइले आशंकाहरु उब्जाएको दाबी गर्दै आएको छ ।

संस्थापन इतर पक्षले सभापति देउवा आफ्नो कार्यकाल लम्ब्याउने ध्याउन्नमा लागेको आरोप लगाएको छ ।

विधानतः कांग्रेस सभापतिको नियमित कार्यकाल चार वर्ष हुने भए पनि विशेष अवस्था भए बढीमा एक वर्ष थप गर्न पाइन्छ ।

सभापति देउवा विधानतः एक वर्ष र राजनीतिक दलसम्बन्धी कानुनले दिएको अधिकार प्रयोग गरेर थप छ महिना आफ्नो कार्यकाल लम्ब्याउने दाउमा देखिएको आरोप छ ।