Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


गगन थापाले प्रधानमन्त्रीलाई सोधे– तपाईको घुँडामा भ्वाङ कत्रो परेको छ ?


0
Shares

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसामु घुँडा टेक्दा घुँडामा कत्रो भ्वाङ पर्‍यो भनेर सांकेतिक रुपमा प्रश्न गरेका छन् ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा उनले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय सरकारले आवश्यक तयारी विना गरे पनि काम सही भएकाले महँगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस् आफूहरुसहित जनताले सरकारलाई साथ दिएको उनले बताए ।

उनले भने, ‘हाम्रो यस्तो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ र ठोकेर भन्ने छ– मेरो देशमा विषादी परीक्षण नगरी तरकारी फलफूल भित्रिन दिइने छैन ।’

पारीबाट वारी आउने फलफूल र तरकारीमात्र होइन, वारीबाट पारी जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीलाई यतिमात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो, घुँडामा भ्वाङ कत्रो परेको छ ? बताइदिनु हुन्छ कि ?’ उनले प्रश्न गरे ।