Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, शीर्ष नेताहरुबीच सहमतिको प्रयास


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच पार्टीका तल्ला तहको संरचना गठन निर्वाचनबाटै गर्ने सहमति भएको थियो ।

यही सहमति अनुमोदन गर्न बैठक बोलाइएको बताइएको छ । मुलुक संघीय संरचनामा गइसके पनि कांग्रेसले आफ्ना संरचना सोअनुरुप बनाउन सकेको छैन ।

अन्तरिम अवधिका लागि सहमतिबाट तदर्थ समिति गठन गरी संरचना निर्माण गर्ने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले असहमति जनाएपछि अब विधानअनुसार निर्वाचनबाटै गठन गर्ने सहमति बनेको हो ।

कांग्रेसको विधानमा पनि संघीय संरचनाअनुसार कमिटी गठन गर्दा निर्वाचनबाटै गर्नुपर्ने व्यवस्था छ ।

केन्द्रीय कार्यसमितिबाहेक कांग्रेसमा अहिलेसम्म तल्ला तहका कमिटी पुरानै संरचनाअनुसार गठन भएका छन् ।

नयाँ संरचनाअनुसार प्रदेश, क्षेत्र, गाउँ, नगर, वडा र बुथ कार्यसमिति गठन गर्नुपर्नेछ ।

नियमित महाधिवेशन नहुँदासम्मको अन्तरिम अवधिका लागि गठन हुने सबै कार्यसमिति अब निर्वाचनबाटै चयन गरिने छन् ।

बैठकले नियमावलीसमेत पारित गर्ने बताइएको छ । नियमावली तयार पार्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले सहमतिबाट नियमावलीको मस्यौदा पारित गरिसकेको छ ।

बैठकमा विभाग, भ्रातृसंस्थाका अधिवेशन, नेविसंघको गठनलगायत विषयमा छलफल हुनेछ ।

नेविसंघ विघटन भएको चार महिना बित्दासमेत नयाँ कार्यसमिति बन्न सकेको छैन ।