काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसिरहेको बैठकमा प्रस्तुत एजेन्डामाथि सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
सांसदहरुले सरकारका निर्णय र काम–कारबाही, सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन, पार्टी सन्चालन तथा सरकारले संसदमा दर्ता गरेका विधेयकलगायतका विषयमा धारणा राखिरहेका छन् ।
गएको सोमबार बसेको संसदीय दलको बैठकको निरन्तरतामा शनिबार पनि बसेको बैठकमा २० जना सांसदले बोल्नका लागि नाम टिपाएको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
यसअघि, सोमबार बसेको बैठकमा सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
सोमबार बोल्ने अधिकांश सांसदले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका थिए ।
आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै उनीहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए ।
उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका थिए ।
बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरेका थिए ।
सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको थियो ।
सोमबारको बैठकमा २९ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्