Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


‘उपचार गर्न हतारिएर दिल्ली नआउनु’


0
Shares

नयाँदिल्ली । विनोद उलकको काटेश्वर, काठमाडौंमा खाद्यान्नको होलसेल पसल थियो । व्यापारबाट राम्रै आम्दानी हुन्थ्यो । विहान उठेदेखि साँझ नसुतेसम्म उनको दिनचर्या ब्यापार गरेरै वित्थ्यो ।

उलक मार्केटिङ आफैं गर्थे र गाडीबाट डेलीभरी गर्न पनि आफैं जान्थे । श्रीमती सुनिता पनि ब्यापारमा उत्तिकै सक्रिय थिइन । छोराछोरी पढ्दै थिए । व्यापार र परिवार दुवै हिसाबले उनी सन्तुष्ट थिए ।

२०७२ भदौ २ गते विनोदको पुरै शरीर दुख्न थाल्यो । असह्य पीडा भएपछि परिवारका कान्छा भाइ विनोदलाई दाजुहरुले मोडेल अस्पताल पुर्‍याए । मोडलले बोनम्यारोको बायोप्सीका लागि नमुना हिमाल अस्पताल पठाइयो ।

अस्पतालले बायोप्सीबाट रोग किटान गर्न सकेन । दाजुभाई र आफन्तको सल्लाहमा एक साता नवित्दै दिल्ली पुर्‍याइयो । उनको उपचार तथा परीक्षण गंगाराममा भयो ।

पछि गंगारामले बीएल कपुरमा रिफर गरिदियो । त्यहाँ रोग पहिचान भयो, मल्टिपल माइलो । अर्थात एक किसिमको रगत क्यान्सर ।

यतिसबै हुँदा सात महिना वितिसकेको थियो । र औषधि उपचार र नेपाल आउन जान गरेर मात्र उनको ६० लाख खर्च भइसकेको थियो । पछिल्लो चार बर्षमा उनको करिब एक करोड रुपैंयाँ खर्च भएको छ ।

नेपालमै मल्टिपल माइलोमा विश्वस्तरीय उपचार पाइन्छ भन्ने आफूलाई रोग लागेको करिब डेढ बर्षपछि मात्र थाहा पाएको उनले बताए तर त्यसबेलासम्म उनको समय र धेरै पैसा खर्च भइसकेको थियो ।

आफनै अनुभवबाट पाठ सिकेर उनी क्यान्सरका विरामीलाई उपचारका लागि नहतारिकन निर्णय लिन सल्लाह दिन्छन् । चाहे त्यो अस्पताल चयन गर्ने विषयमा होस या खर्चको पाटोमा होस । -कान्तिपुर दैनिकबाट