
काठमाडौं, साउन १ । राष्ट्रियसभाले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
संघीय संसद भवन नयाँबानेश्वरमा मंगलबार बसेको बैठकले संविधानसभाका पूर्वसदस्य आलमको निधनमा सर्वसम्मतिले शोकप्रस्ताव पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शोकप्रस्ताव पढेर सुनाएका थिए । त्यसपछि आलमको निधनमा एक मिनेट मौनधारण गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा गत असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।
आलम २०७० सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो ।
तर, अध्यक्ष तिमिल्सिनाले उक्त कार्यसूची हटाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्