६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई


0
Shares

काठमाडौं, असोज ११ । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिर्पोटसम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताउनुभयो ।

यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए ।

यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो ।

नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् ।

“पहिलो पोजेटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो,

“धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।”

मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो ।

यस्तै काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा सङ्क्रमणको दर उच्च देखिएको छ ।

ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गर्नुभयो । रासस