७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


सरकारले लगाएका करका थप दरहरु कार्यान्वयनमा


0
Shares

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मंगलबारदेखि सरकारले लगाएका करका थप दरहरु कार्यान्वयनमा आएको छ ।

गत जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान तत्कालदेखि लागू भएपनि धेरैजसो प्रावधान भने नयाँ आर्थिक वर्षको सुरु अर्थात् मंगलबारदेखि लागू भएको हो ।

जसमा बजेट सार्वजनिक भएलगत्तै चुरोट, रक्सीलगायतका अन्तःशुल्क, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा जरिवाना गर्नेजस्ता प्रावधान लागू भइसकेका छन् ।

यसैका कारण बजारमा मोटरसाइकल तथा गाडी, चुरोट, रक्सीलगायतका भाउ बढिसकेको छ ।

मंगलबारदेखि ह्वात्तै बढाइएको दूरसन्चार सेवा दस्तुर पनि कार्यान्वयनमा आएको छ ।

यस्तै, कार, जिप, भ्यानलगायतका गाडी किन्दा मूल्यको १० प्रतिशतसम्म रजिष्ट्रेसन शुल्क तिर्नुपर्ने छ भने मोटरसाइकलमा त झन् बढी अर्थात् १५० सीसीसम्मको मोटरसाइकलले १५ हजार, २५० सीसीसम्मको मोटरसाइकलको १८ हजार, ४०० सीसीसम्मको ५० हजार र त्यसभन्दामाथि दुई लाख रुपैयाँसम्म रजिष्ट्रेसन शुल्क तिनुपर्नेछ ।

क्यासिनोको रोयल्टी, वनजन्य वस्तु, मदिराको इजाजत शुल्क, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारअन्तर्गतका करलगायत पनि मंगलबारैदेखि कार्यान्वयनमा आउँदा उपभोग्य सामग्रीहरु पनि महँगो हुनेछन् ।

यस वर्षदेखि फेरिएको कर दरका कारण धेरै पैसा कमाउनेले धेरै आयकर तिर्नुपर्नेछ ।

वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले अहिले तिर्दै आएको करमा वर्षमा झन्डै १५ हजार रुपैयाँ छुट पाउने तथा वर्षमा ७ लाखभन्दा धेरै कमाइ गर्ने व्यक्तिले भने कमाइअनुसार ३६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।