१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


शिक्षण अस्पताल महाराजगन्जमा निर्माणाधीन क्यान्सर अस्पताल अलपत्र


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, असार १७ । माओवादी ‘जनयुद्ध’काक्रममा गोरखामा मारिएका माओवादी नेता सुरेश वाग्लेको नाममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निर्माणाधीन क्यान्सर अस्पतालको काम अझै सकिएको छैन ।

२०७१ सालमा नै निर्माण सम्पन गर्ने भनिएको अस्पताल निर्माणको म्याद तीनपटक थपिएको छ ।

२०६८ साल मंसिर ८ गतेदेखि निर्माण सुरु गरिएको ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ त्रिभुवन विश्वविद्यालय र निर्माण कम्पनीबीच कुरा नमिल्दा समयमा निर्माण हुन नसकेको हो ।

कुल ७१ करोड रुपैयाँमा निर्माण भइरहेको अस्पताल २०७१ सालमै पूरा गर्ने भनिएको थियो । तर, त्रिविले यसबीचमा तीनपटकसम्म म्याद थप गरिसकेको छ ।

पछिल्लोपटक २०७३ साल चैतमा तेस्रोपटक म्याद थप्दै ११ महिनाभित्र निर्माण सम्पन गर्न भनिएको थियो । तर, ठेकेदारले पाँच करोड ६८ लाखको ‘भेरियसन अर्डर’ अघि सारेपछि निर्माणको काम ठप्प रहेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा यस विषयमा भएको छलफलमा त्रिविका उपकुलपति डा. तीर्थ खनियाँले तोकिएको रकमभन्दा फरक पर्ने गरी भेरियसन माग भएपछि भवन निर्माणको काम अघि बढाउन थप म्याद नदिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले भने भवन निर्माण विभागले नै पाँच करोड ६८ लाखको भेरियसन माग गरेको दाबी गरे ।

नक्सामा पनि केही फेरबदल भएको भन्दै निर्देशक खड्काले ढललगायतका केही भेरियसनको मागसहितको पत्र त्रिविमा पठाएको बताए ।

उपकुलपति डा. खनियाँले ढल, बिजुली, शौचालय चाहिन्छ भन्ने कुरा नै नभइकन कसरी नक्सापास गरियो भन्ने प्रश्न गर्दै ६ करोडको भेरियसनमा सहमति दिने हो भने आफूले अख्तियार धाउनुपर्ने अवस्था आउने बताउँछन् ।

भिडियो हेर्नुहोस्