काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले विनियोजन विधेयकअन्तर्गत् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय शीर्षकको बजेटमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरेका छन् ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसद बद्री पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत् विविध शीर्षकको खर्च कटौती गरेर १०० रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरे ।
यस्तै, सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको भन्दै कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरिन् ।
सांसद यादवले किसानका लागि आवश्यक सेवा–सुविधा दिनुपर्ने सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेको आरोप लगाइन् ।
यसैबीच, राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन), विधेयक २०७६ टेबुल गरेका छन् ।
यसअघि, बैठक सुरु हुनेबित्तिकै सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समय लिएर प्रतिपक्ष दल कांग्रेसका सांसद तारादेवी भट्टले हालै कन्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका कार्यकर्तामाथि भएको सांघातिक आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्