काठमाडौं, असार १६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
सोमबार संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका हुन् ।
आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए ।
उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका छन् ।
बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरे ।
बैठकको सुरुमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेन्डाबारे जानकारी गराएका थिए ।
त्यसपछि सांसदहरुले प्रधानमन्त्री ओलीले प्रस्तुत् गरेका एजेन्डामाथि टिप्पणी गर्न थालेका हुन् ।
सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको हो ।
यसअघि बसेका संसदीय दलको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले निर्देशनमात्र दिने तर आफूहरुले धारणा राख्न नपाएको भन्दै सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्