१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


नयाँ राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक


0
Shares

काठमाडौं, असार १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ ।

मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले २०४८ सालको राष्ट्रिय स्वास्थ्य नीतिलाई परिमार्जन गरी बनाइएको नयाँ नीति सार्वजनिक गरेका हुन् ।

गएको जेठ १० गते मन्त्रिपरिषद् बैठकबाट पास भएको नीतिले संघीय संरचनामा सबै वर्गका नागरिकका लागि सामाजिक न्याय तथा सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने दाबी गरिएको छ ।

सबै तहमा स्वास्थ्य संस्थाहरुवाट तोकिएबमोजिमको निःशुल्क आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने, स्वास्थ्य बिमामार्फत् विशेषज्ञको पहुँच, एक चिकित्सक र एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको अवधारणा सबै स्वास्थ्य संस्थाहरुमा लागू गराउने, प्रमुख लोकमार्गहरुमा ट्रमा सेवा केन्द्र स्थापना गर्ने उद्देश्य रहेको मन्त्री यादवले बताए ।

मानवअंग प्रत्यारोपण तथा अंगदान सेवा व्यवस्थित गर्ने, आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना गर्ने, हवाई एम्बुलेन्स सेवाको विस्तार गराउनेलगायतका विषय पनि स्वास्थ्य नीतिमा समेटिएका छन् ।