काठमाडौं, असार १६ । सभामुख कृष्णबहादुर महराले विगतमा भएका गल्तीबाट पाठ सिकेर संसदीय अभ्यासलाई थप सुदृढ बनाउन एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
६१औं संसद दिवसका अवसरमा सोमबार राजधानीमा संसद सचिवालय र पूर्वसांसद मञ्चले संयुक्तरुपमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै सभामुख महराले संसदीय अभ्यासकाक्रममा विगतमा पटक–पटक भएका गल्तीले संसदीय व्यवस्था कमजोर भएको स्मरण गर्दै विगतको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।
उनले जनताका समस्या समाधान गर्ने थलोकारुपमा संसदलाई विकसित गरेर संसदीय व्यवस्थालाई परिस्कृत गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबाट नै सभामुखलाई अप्ठ्यारो पार्ने काम भइरहेकोप्रति असन्तुष्टि जनाउँदै सभामुखलाई तटस्थ भएर काम गर्न दिनुपर्ने बताए ।
कार्यक्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तापक्षकै शीर्ष नेताबाट संसदीय व्यवस्थाप्रति वितृष्णा फैलिने गरी आउने अभिव्यक्तिले मुलुक पुनः द्वन्द्वमा जाने चिन्ता बढ्न थालेको टिप्पणी गरे ।
वि.सं. २०१५ साल असार १६ गते पहिलोपटक संसद बैठक बसेको दिनको सम्झनामा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्