दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा रोचक संयोग, रोमाञ्चक प्रतिस्पर्धा • Image Khabar Image Khabar


दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा रोचक संयोग, रोमाञ्चक प्रतिस्पर्धा


इमेजखबर
५ आश्विन २०७७, सोमबार १४:४५

दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा रोचक संयोग, रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं, असोज ५ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण यूएईमा जारी छ ।

क्रिकेटको छोटो प्रारुपको प्रतिस्पर्धामा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाब भिडे ।

खेल निकै रोमाञ्चक रह्यो ।

संयोग, उति नै ओभर, उति नै विकेट र उति नै रन । दुवै टोलीले २० ओभरमा समान ८ विकेट गुमाएर १५७ रन बनाए । निर्धारित् ओभरमा खेल बराबरी भयो ।

‘सुपर ओभर’मा प्रवेश गरेको खेलमा दिल्लीले बाजी मार्‍यो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली हो, दिल्ली । दिल्लीले सन्दीपलाई ‘बेन्च’मा राखेको थियो ।

एक समय पन्जाब जितनजिक र दिल्ली हारउन्मुख देखिएको थियो । तर, नतिजा उल्टो भयो ।

सुपर ओभरमा दुवै टोलीले छ/छ बल खेल्न पाउँछन् । तर, पन्जाबले ३ बलमा २ विकेट गुमाएर २ रनमात्र बनाएको थियो । कागिसो राबाडाले दुवै विकेट लिए । कप्तान केएल राहुलले २ रन जोडेर र निकोलस पुरन शून्यमै आउट भए । आईपीएलको एक सुपर ओभरमा बनेको यो अहिलेसम्मकै सबैभन्दा कम रन हो ।

दिल्लीले ३ बलमा लक्ष्य पूरा गर्‍यो । ऋषभ पन्तले विजयी रन प्रहार गरे ।

त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पन्जाबलाई निर्धारित् ओभरमा जितका लागि १५८ रन आवश्यक थियो । अन्तिम ओभरमा उसलाई १३ रन चाहिएको थियो । मयंक अग्रवालले तीन बलमा १२ रन हिर्काए । जितका लागि अबमात्र १ रन चाहिएको थियो ।

तर, अन्तिम २ बलमा दिल्लीका मार्कस स्टोइनिसले २ विकेट लिएर खेललाई सुभर ओभरमा पुर्‍याए ।

मयंकले ६० बलमा ८९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ७.८५ को औसतमा २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । स्टोइनिसले २१ बलमा ५३, कप्तान श्रेयस अय्यरले ३२ बलमा ३९ र ऋषभ पन्तले २९ बलमा ३१ रनको योगदान गरेका थिए । स्टोइनिस ‘म्यान अफ दी म्याच’ घोषित भए ।

खेलमा पन्जाबका मोहम्मद शामीले ४ ओभरमा १५ रन दिएर सर्वाधिक ३ विकेट लिए ।

जारी प्रतियोगिताको यो दोस्रो खेल थियो । दिल्लीको विजयी सुरुआत हो । पन्जाबले पहिलो खेलमै हार व्यहोर्यो ।

प्रतिक्रिया दिनुहोस्