
सिराहा । रातको १२ बजे । सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाको ‘पञ्चायती’ बस्यो ।
एजेन्डा थियो– स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिने ।
सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय महिला मूर्तिदेवी बोक्सी भएको ठहर गरिसकेका थिए ।
दोषीलाई सजाय दिन र गाउँमा सुख र शान्ति स्थापना गर्न यो पञ्चायती डाकिएको थियो । गाउँबाट झाँक्री ल्याएर घरमै झारफुक गराएका थिए ।
४५ वर्षीया मूर्तिदेवीका पति रामनारायण यादवले कुटानी–पिसानी मिल सञ्चालनसँगै खेतीपाती गर्दै आएका छन् । ‘अघिल्लो शनिबार दिनभर मिल चलाएर राति ९ बजेतिर बन्द गरी नुहाएर खाना खाई सुतिसकेको थिएँ,’ रामनारायणले नयाँ पत्रिकासँग भने, ‘राति १२ बजे अचानक गाउँका दुईजना आएर उठाए, मैले किन–कसो भन्न पाइनँ । जरुरी छ भन्दै मलाई लिएर गए ।’
रामनारायण शिव मन्दिर पुग्दा ५० जनाभन्दा बढी जम्मा भइसकेका थिए । मध्यरातमा मन्दिरमा यति धेरै मान्छे जम्मा भएको देखेर रामनारायण डराए ।
पञ्चायतीले उनीसँग बयान लिन थाल्यो । ‘धर्मनाथकी छोरी बिरामी छ, तिम्री श्रीमती बोक्सी लागेको हो । तिमीहरूले सजाय पाउनुपर्छ भनेर उनीहरूले सुनाए । मैले अहिलेको जमानामा बोक्सीको कुरा गर्न मिल्छ भनेर सोधेँ । तर, मेरो भनाइ सुन्ने कोही थिएन,’ उनले भने ।
श्रीमती मूर्तिदेवी बोक्सी हो भनेर रामनारायणलाई बयान दिन बल गरिएको थियो । तर, उनले मानेनन् । त्यसपछि उनलाई बोल्न नदिई एक समूह उनको घर गयो । ‘एकैछिनमा त्यो समूहले मेरी श्रीमती मूर्तिदेवीलाई लछारपछार गर्दै घिसार्दै ल्यायो, गाउँका छोरा मान्छेहरू यो बोक्सी हो भन्दै उफ्रिरहेका थिए ।
उनीमाथि लात्ती र मुक्का वर्षा भइरहेको थियो,’ रामनारायणले भने, ‘एक–दुईजनाले बचाउन खोजे, उनीहरूलाई पनि भिडले तह लगायो । श्रीमती बचाऊ–बचाऊ भनेर चिच्याइरहेकी थिइन्, म जोगाउन अघि बढेँ । मलाई पनि लात्ती र मुक्का हानेर ढलाए ।’
मध्यरातमा मन्दिरमा कोलाहल भयो । आमालाई घिसार्दै लगेको देखेर छोरा गणेश पनि दगुर्दै गए । ‘आमालाई, बाबालाई र मलाई सबैलाई कुटे,’ गणेशले भने, ‘गाउँमा धर्मनाथकी छोरी बिरामी भएकी थिइन् । पोखरीमा डुबेर एक छिमेकीको मृत्यु भएको थियो । चट्याङ लागेर अर्का एकजनाको मृत्यु भएको थियो । यो सबको दोष हाम्री आमालाई लगाए ।’
छोरा गणेशका अनुसार मूर्तिदेवी रक्ताम्य भएर ढलेपछि पनि मान्छेहरूले बोक्सी भन्दै लात्ती हानिरहेका थिए । ‘उनीहरूले बोतलमा घोलेर मलमूत्र ठिक्क पारेका रहेछन्, अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाए । हामी बाबुछोरालाई समातेर बन्धक बनाएका थिए । हामीले केही गर्न सकेनौँ,’ छोराले भने ।
यसरी महिलालाई बोक्सी भनेर कुटपिट गर्ने र मानव मलमूत्र खुवाउने ‘पञ्चायती’मा स्थानीय जननिर्वाचित प्रतिनिधि पनि थिए । नवराजपुर– ५ का वडासदस्यसमेत रहेका स्थानीय रामउद्गार यादव पनि सो भिडमा सहभागी रहेको परिवारको गुनासो छ ।
एउटी महिलालाई कुटेर, ढलाएर, विवश बनाएर मानव मलमूत्र खुवाएपछि गाउँको पञ्यायती रातको करिब १ बजे समापन भयो । तर, मूर्तिदेवी गम्भीर घाइते भएकी थिइन् । श्रीमान् र छोराले एम्बुलेन्स बोलाएर राति नै लहानस्थित कामना नर्सिङ होममा पुर्याए । ‘तर, चोट गम्भीर छ भनेर कामना नर्सिङ होमले यहाँ उपचार हुन नसक्ने बतायो ।
त्यसपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ, आमा बोल्न सक्नुहुन्न, अब एक–दुई दिनमा अप्रेसन गर्नुपर्छ भनेको छ,’ छोरा गणेशको भनाइ छ ।
अन्याय परेकालाई गाउँघरमै न्याय दिन स्थानीय पालिकालाई कानुनले अधिकार दिएको छ । तर, स्थानीय गाउँपालिकाले यो विषयमा दोषीलाई कारबाही गर्न कुनै पहल लिएको छैन ।
गाउँपालिका केन्द्रबाट जम्मा तीन किलोमिटरको दूरीमा रहेको कुर्सन्डी गाउँमा भएको यो घटनाको विषयमा जानकार भए पनि जनप्रतिनिधि भने औपचारिक जानकारीको पर्खाइमा छन् । घटनाको विषयमा न्यायिक समितिकी संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले भनिन्, ‘घटनाबारे तेस्रो व्यक्तिहरूबाट थाहा पाएँ, पीडित र आरोपी पक्ष कसैले पनि लिखित निवेदन दिएका छैनन् । निवेदन नआएसम्म हामीले केही गर्न मिल्दैन ।’
कुटपिटबाट घाइते भएकी महिला अस्पताल भर्ना भएको एक सातासम्म पनि जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्था र राहतको विषयमा समेत चासो राखेका छैनन् । गम्भीर घाइते महिला अस्पतालको बेडमा छिन्, परिवारका सदस्य उनको उपचारका लागि दौडधुप गरिरहेका छन्, स्थानीय जनप्रतिनिधि आफैँले चासो राख्नुपर्ने होइन र भन्ने नयाँ पत्रिकाको जिज्ञासामा गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले भने, ‘गाउँघरमा यस्ता खालका झगडा, कुटपिट भइरहन्छन्, पीडितले नभनेसम्म कहाँ–कहाँ जाने रु’
पञ्चायतीमा धेरैजना उपस्थित रहे पनि सबैभन्दा कुटपिटको नेतृत्व धर्मनाथ यादव, उनको छोरा सन्तोष, देवनाथ, छोरा पशुपति यादव, महेश यादव र कृष्ण यादवका भाइ ब्रह्म यादवले गरेको मूर्तिदेवीका छोरा गणेशले बताए ।
कुटपिट गरेको र मलमूत्र खुवाएको विषयमा प्रहरीलाई उजुरी गर्दा चोरीको मुद्दामा फसाउने धम्की दिएको गणेशले बताए । ‘उनीहरूले धम्की दिएका छन्, तर हामीले इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा उजुरी दर्ता गराएका छौँ,’ रामनाराणले भने ।
घटनाको एक सातापछि आइतबार मात्र इलाका प्रहरी कार्यालय महेशपुर पतारीले गाउँमा पुगेर घटनास्थलको प्रकृति मुचुल्का उठाएको छ, तर अहिलेसम्म कोही पनि पक्राउ परेको छैन । ‘आरोपितहरू अहिले फरार छन्,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्तासमेत रहेका डिएसपी शालिकराम पौडेलले भने । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्