२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राजीनामाको माग चर्किएपछि बेलारुसका राष्ट्रपतिद्वारा सेनालाई निर्देशन, सीमा बन्दको घोषणा


0
Shares

काठमाडौं । बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले यस्तो निर्णय गर्नुभएको हो ।

राष्ट्रपति लुकाशेन्कोको आरोपको अमेरिका र युरोपियन युनियले खण्डन गरेका छन् ।

अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति लुकाशेन्कोले धाँधली गरेको भन्दै उहाँविरुद्ध प्रदर्शनहरु सुरु गरिएको छ ।

तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहनु भएका लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

प्रदर्शन दबाउन प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो ।

राष्ट्रपति लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै सडकहरुबाट सेनालाई फिर्ता बोलाएर उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएको उल्लेख गर्नुभयो ।

उहाँले लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेको घोषणा गर्नुभयो ।

राष्ट्रपति लुकाशेन्कोले मुलुकमा युद्ध होस् भन्ने पक्षमा आफु नरहेको भन्दै बेलारुस, पोल्यान्ड र लुथियानाबीच कुनै सैन्य तनाव सिर्जना नहोस् भन्ने चाहेको बताउनुभयो । (एजेन्सी)