Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


राजनीतिक हत्याका घटना फेरि दोहोरिन सक्छ : दाहाल


0
Shares

काठमाडौं, असार १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना फेरिपनि दोहोरिन सक्ने बताएका छन् ।

स्व. मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक हत्या, प्रतिहत्याका दोषीलाई पत्ता लगाएर भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न नसकिएको बताए ।

उनले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गर्दै फेरि त्यस्तैखालको राजनीतिक हत्याको घटना दोहोरिने खतरा बढेको बताए ।

राजनीतिक हत्या र प्रतिहत्याका दोषीलाई पत्ता नलगाएसम्म फेरिपनि दुःखद् घटना घट्न सक्ने भएकाले आफूहरुले पनि ‘छाला जोगाएर हिँड्नुपर्ने’ अवस्था आएको उनको भनाइ थियो ।

भण्डारीको हत्या र दरबार हत्याकान्ड हुँदासमेत हत्यारा पत्ता लगाउन नसकिएकाले गम्भीर हुनुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भण्डारीको सच्चा उत्तराधिकारीकारूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू रहेको भन्दै नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर नेपाली कांग्रेसले नसोचेपनि हुने बताए ।

नेकपा असफल भए विभाजनकारी शक्ति बलियो भएर मुलुक असफल हुने भएकाले कार्यकर्ताले पनि नेताहरुलाई अनावश्यक कुरा लगाएर उत्तेजित बनाउन नहुने उनले उल्लेख गरे ।

१५ दिनभित्र एकताका सम्पूर्ण काम सकिन्छ : प्रधानमन्त्री

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति लक्षित आलोचना आउँदो दसैंसम्म समाप्त हुने दाबी गरे ।

सरकारले राम्रो काम गरेपनि कानुन निर्माणमा व्यस्त भएकाले जनतालाई भन्न नपाएको उनको भनाइ थियो ।

एकता प्रक्रियामा भएको ढिलाइका कारण कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अबको १५ दिनभित्र एकताका सम्पूर्ण काम सक्ने दाबी गरे ।

सांसद हृदयेश त्रिपाठीले मधेसमा कम्युनिस्ट पार्टी लोकप्रिय नभएको भन्दै मधेसलाई उपेक्षा गरुन्जेल कम्युनिस्ट आन्दोलन पूरा नहुने बताए ।

कार्यक्रममा प्रा. डा. सुवोध शर्मालाई जल, पर्यावरण, विकास तथा व्यवस्थापनमा उल्लेखनीय योगदान गरेवापत मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।