Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


महिलाले विवाहको प्रस्ताव नमान्दा ६ बर्षीया छोरी अपहरण, रेष्टुरेन्टबाट उद्धार


0
Shares

बुटवल । अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो ।

अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं १०३ बाट उद्धार गरिएको हो ।

प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज बिहान करीब ७ः३० बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गर्नाका साथै अपहरणकर्ता वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

अपहरणकारी दास विगत नौ महीनादेखि पीडितको घर नजीकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए । सोही क्रममा अपहृत बालिकाकी आमा मञ्जु थापासँग चिनजान भएको थियो ।

सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा सावित्री थापाका पति टेकबहादुर थापा नभएको मौका छोपेर उनले सोमबार साँझ करीब ८ बजेको समयमा नाबालिकालाई जबर्जस्ती अपहरण गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको उनले बताए । रासस