अनि हस्तिनापुरमा दुर्योधनले असल मानिस फेला पारेनन्….. • Image Khabar Image Khabar


अनि हस्तिनापुरमा दुर्योधनले असल मानिस फेला पारेनन्…..


Imagekhabar
२५ भाद्र २०७७, बिहीबार ०८:१८

अनि हस्तिनापुरमा दुर्योधनले असल मानिस फेला पारेनन्…..

-हरिविनोद अधिकारी

कुरो सामान्य हो । सदाझैँ नेपालमा निजामती सेवा दिवस पनि आयो । प्रत्येक भदौको २२ गतेलाई निजामती सेवा दिवसको रुपमा नेपालमा मनाउँदै आइएको छ । करिब ८० हजार निजामती कर्मचारीहरु छन् जसले मुलुकको प्रशासनिक सेवा गरिरहेका छन् । पहिले पहिले त्यो दिन सरकारी कार्यालयहरुलाई विदा दिएरै भए पनि मनाइन्थ्यो । त्यस दिनको प्रतीक्षा यसकारणले पनि कर्मचारीहरुले गर्थे- म पनि पो पुरष्कृत हुन्छु कि ? अर्थात् सेवा गर्नेले कुनै पुरस्कार पाउँला नै भनेर त गरेको हुँदैन तर समाजले त्यसको पनि अभिलेख राख्ने हुनाले आशा गर्नेहरु हुन्छन् नै । तर यो समाचार हेरौँ:
सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।

समाचारले के सन्देश दिन्छ ? यो सामान्य समाचार मैले अनलाइन खबरबाट कपी गरेको हुँ । तर यसले दिने असामान्य सन्देश भने आजको निजामती प्रशासनका लागि एउटा खतरा पनि हो, सुध्रिने मौका पनि हो र सरकारमा बसेकाहरुको नियतसँग पनि गाँसिएको प्रश्न हो ।

कतिओटा कर्मचारीहरु पुरस्कृत हुनुपर्ने हो , त्यसमध्ये जम्मा ४० जनामात्र छानिएका छन् । अझ त्यसमा पनि सर्वोत्कृष्ट कर्मचारीचाहिँ फेला नपरेको समाचार देखिन्छ । अर्थात् सर्वोत्कृष्ट सेवा प्रदायक कर्मचारी करिब १लाख निजामती सेवाका सेवकहरुमध्ये कोही पनि रहेनछन् । एकजना सर्वोत्कृष्ट कर्मचारी भनेर पुरष्कृत भएका उप सचिवलाई यताबाट उता मिल्काउने अनि कतै हाजिर गर्न नदिने गरेर दिएको सास्ती र हालैमात्र खाएको कुटाइबाट पनि सर्वोत्कृष्ट कर्मचारीको भविष्य र सुरक्षाको वारेमा नागरिक समाज जानिफकार छ । सायद त्यही भएर होला , जजसले पुरस्कार पाए, उत्कृष्ट भनिए ,तिनका वारेमा सामाजिक सञ्जालमा वधाइको ओइरो आएको देखिएन जवकि सानातिना सफलतामा पनि वधाइको ओइरो आएको देखिन्थ्यो ।

मैले यसलाई यसरी लिएको छु । एउटा कथाको सहारामा यसको पुष्टि गर्ने प्रयत्न गर्नेछु । एकपटक व्यावहारिक शिक्षा प्रदान गर्ने क्रममा गुरु द्रोणाचार्यले पाण्डव र कौरव दाजुभाइहरुलाई एउटा कामको जिम्मा दिनु भएछ । भन्नुभएछ दुर्योधनसहिका उसका सय दाजुभाइहरुलाई- हे दुर्योधन, तिम्रो नेतृत्वमा तिमीले यो हस्तिनापुर सहरमा सबैभन्दा असल मानिसको खोजी गरेर ल्याऊ । महाराज धृतराष्ट्रका सयभाइ छोराहरु सबै हस्तिनापुर जनपदको घर घरमा गएर खोज्न थालेछन् असल मानिस । कतै पाएनछन् र गुरुलाई भनेछन्- यो हस्तिनापुर सहरमा कुनै पनि व्यक्ति असल रहेनछन् । अर्को दिन पालो आयो पाण्डवको । युवराज युधिष्ठिरको नेतृत्वमा खराब व्यक्ति खोज्ने काम दिनुभएछ गुरु द्रोणाचार्यले । अनि युधिष्ठिर र भाइहरु सबै हस्तिनापुरको कुना कुना गएर खराब मानिस खोजेछन् तर कोही पनि खराब फेला पारेनछन् । अनि गुरुसँग भनेछन- गुरु, हामीले त कोही पनि खराब मानिस यो सहरमा पाएनौँ ।

माथिको कथा जस्तै हो अहिलेको निजामती सेवामा राम्रो मान्छे या सर्वोत्कृष्ट सेवक फेला पार्न नसकेको अवस्था । यसको दुवै अर्थ लाग्न सक्छ । पहिलो अर्थ -सरकारसँग कर्मचारी मूल्याङ्कनको कुनै मानक छैन र सरकारी प्रणालीमा को असल, को खराब भनेर विभाजन गर्ने कुनै तरिका बनेकै छैन । दोस्रो अर्थ हुनसक्छ-सरकार कसैप्रति विश्वास नै गर्न सक्दैन । विश्वासको वातावरण बनाउन सकेको छैन । समायोजनको कुराले अझै पूर्णता पाउन सकेको छैन । अझ रमाइलो कुरो त के थियो भने कुनै बेला सबै निजामती सेवाको मुख्य चालक र सर्वमान्य नेता मानिने मुख्य सचिवले आफैँले त्यस्तो सर्वोत्कृष्ट पुरस्कार आफैँले आफैँलाई दिएका थिए । अचेल त कुनै सर्वोत्कृष्ट सेवक नै पाइन छोडेको छ विगतका चार वर्षदेखि त । जसले पुरस्कार पाउँछन् , ती पनि आफूले पुरस्कार पाएको कुरा सगर्व भन्न पनि नसक्ने अवस्था छ ।

एकातिर भ्रष्टाचारले मुलुक आक्रान्त छ । यस्तो भ्रष्टाचार नीतिगत र कार्यगत दुवैतिर देखिन्छ । राजनीतिक प्राणीहरुलाई निजामती सेवाकाले भ्रष्ट बनाएका हुन् कि राजनीतिक नेताहरुले निजामती सेवाका मानिसहरुलाई बाध्यतावश भ्रष्ट बनाएका हुन् भन्ने कुराको निक्र्यौल गर्ने ठाउँमा स्वयं निजामती सेवाका नेतृत्व गरेका व्यक्तिहरु नै संवैधानिक पदको गरिमालाई दाग लगाउँदै गजधम्म बसेका हुन्छन् ।

सबैभन्दा राम्रो ठाउँ र नराम्रो ठाउँको रुपमा कार्यालयहरुलाई विभाजन गरिन्छ । मालवाला र माल नपाउने भनेर रे । हामीलाई त लाग्छ , सबै सेवा प्रदायक स्थानहरु जनताका लागि नै हुन् र सेवकका लागि सेवा नै धर्म हो ।

करिब ४० वर्ष पहिलेको कुरा हो, एकपटक मेरा साथीको पिताजीका कुनै नजिकका दाजु पर्ने व्यक्ति पञ्चायतका गृहमन्त्री थिए । ती गृहमन्त्री स्वयं पनि त्यो बेलामा निष्कलङ्क नै मानिन्थे र पनि आफ्ना नजिकका भाइलाई भैरहबाको भन्सारमा अर्थमन्त्रीलाई भनेर पठाएछन् । ती भाइ थिए अचम्मका सेवक । केही समय त्यहाँ बसेपछि तिनले आफ्ना दाजुलाई काठमाडौँ आएर भनेछन् —दाजु मलाई तपाईँ अन्तर्गतको कारागारमा शाखामा बरु पठाउनुस्, त्यो राजस्व छलेर भ्रष्टाचार गर्नुपर्ने ठाउँबाट मुक्ति दिलाउनुस् । मुलुकको राजस्व उठाउने ठाउँलाई यदि गाजलको घर मान्ने हो भने सेवकले लगाएको सेतो लुगामा दाग नलागी निस्कने एकदमै कम सेवक हुन्छन् । यसको कारण पनि के मानिएको छ भने आधारभूत आवश्यकता पूरा हुने खालको तलब नै नपाएकाले यस्तो भएको हो ।

एकपटक मसँग एकजना चिनियाँ कूटनीतिज्ञले शिक्षा विषय पढ्ने चाहना गरे र म क्याम्पस प्रमुख भएको काठमाडौँ शिक्षा क्याम्पसमा भर्ना भए एक बर्से बी एड मा । उनी प्रत्येक शनिवार र आइतवार मसँग शिक्षा, पाठ्क्रम तथा मूल्याङ्कन अनि शैक्षिक मनोविज्ञान विषय पढ्न मेरो घरमा नै आउँथे । वास्तवमा उनी आफ्नै मनोविज्ञानमा स्नातकोत्तर थिए । सामान्य प्रशासनको कुरा गर्दा एकदिन उनले अचम्म मान्दै भने -तपाईँहरुको देशमा काठमाडौँ या सहरहरु अति नै महङ्गा छन् ।

डेराको भाडा पनि धेरै तिर्नुपर्छ अनि कर्मचारीहरुलाई तलबचाहिँ सहरलाई सुगम मानेर कम दिइँदो रहेछ । गाउँमा भत्तासहित पठाइँदो रहेछ जहाँ बस्ने ठाउँ र खाने कुरा सस्तो पाइन्छ । यो सामाजिक न्याय भयो त ? हाम्रा बिचमा गुरु चेलाको सम्बन्ध भएकाले राजनीतिक बन्धन केही पनि थिएन र उनी आफ्नो देशको शिक्षामा देखिएका समस्याहरुको वारेमा खुलेरै कुरा गर्थे । राजनीतिक समस्याहरुको पनि विवेचना गर्थे र नेपालका भ्रष्टाचारले गर्दा विदेशीहरुल आफ्नो देशका नागरिकहरुको करबाट उठेको पैसा दिन गाह्रो मान्ने र नेपालमा जसरी पनि ऋण लिने ध्याउन्न बढी देखिने बताए । एउटा शक्ति राष्ट्रका प्रतिनिधिले केही नबुझी किन भन्थे र ?

जहाँ दण्ड र पुरस्कारको व्यवस्था वैज्ञानिक तरिकाले राखिँदैन, त्यहाँको दल या निजामती सेवा या कुनै पनि सार्वजनिक सेवाको अवस्थाले सुरक्षाको प्रत्याभूति पाउँदैन । सुरक्षा भनेको कामको वातावरण पनि हो र भविष्यको उन्नतिका लागि पाउने अवसर पनि हो ।

कुरा सानो हो तर मलाई लाग्यो सर्वोत्कृष्ट काम गर्ने सार्वजनिक प्रशासनका कोही पनि छैनन् भने पक्कै त्यो देशको निजामती प्रशासनले जनताको सेवा गर्नै सक्दैन तर नेपालमा इमान्दार र असल नियतका थुप्रै या हजारौँ सार्वजनिक प्रशासनमा सेवकहरु छन् जसले जनताको सेवालाई नै आफ्नो जीवनको गन्तव्य ठानेका छन् । यसको उदाहरण राजनीतिज्ञहरुले गर्न नसक्ने भनेर हात उठाएको दोस्रो संविधान सभाको निर्वाचन गरेर देखाएका थिए एकदम कम मन्त्रीहरुको संख्याले । दैनिक काम पनि रोकेनन् र निर्वाचनलाई पनि निष्पक्ष र स्वतन्त्र गराउन निर्वाचन आयोगलाई मद्दत गरे ।
हामीले राजनीतिको फोहोरी खेलमा सार्वजनिक प्रशासनलाई यसरी अन्तर्घुलन गरेका छौँ कि तिनलाई, ती लोकसेवाका लागि कम्मर कसेर जाँच पास गरेर आएका सेवकहरुलाई पथभ्रष्ट बनाए पछि मात्र राजनीतिक अभीष्टता पूरा गर्र्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्