हवाई क्षेत्रले १६ अर्ब गुमायो • Image Khabar Image Khabar


हवाई क्षेत्रले १६ अर्ब गुमायो


सिबी अधिकारी (रासस)
२३ भाद्र २०७७, मंगलवार १७:११

हवाई क्षेत्रले १६ अर्ब गुमायो

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी व्यहोरेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सोहीकारण झन्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो ।

उहाँकाअनुसार ठूला वायुसेवा कम्पनी बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदुरलगायतको पीडा उत्तिकै छ ।

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्ने आँकलन गरिएको छ ।

प्रवक्ता शर्माकाअनुसार बन्दाबन्दीको छ महिनाको अवधिमा बुद्ध एअरलेमात्रै करिब रु चार अर्ब नोक्सानी व्यहोरेको छ । यती एअरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एअरलाइन्सको पनि झन्डै रु तीन अर्ब आर्थिक नोक्सानी भएको छ ।

यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ ।

अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ ।

देशकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत् छ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो ।

दैनिक ७० ओटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एअरलाइन्सले चार हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो ।

धेरै उडान गर्नेमध्येको तेस्रो श्री एअरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।

वायुसेवा कम्पनीको भनाइमा संघको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुनजान्छ ।

उसो भए एअरलाइन्सको भनाइमा चाहिँ कति नोक्सानी भयो त ? बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीकाअनुसार कम्पनीले सामान्य अवस्थामा रु ६० देखि ७० करोड आम्दानी गर्थ्यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रु १५ करोड सहजै आम्दानी गर्ने गरेको थियो । छ महिनाको इन्धनबाहेककोमात्रै हिसाब गर्दा रु एक अर्बभन्दा बढी घाटा हुन्छ ।

बुद्ध एअरले ११ एटीआरसहित १३ जहाजमार्फत् विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ ।

यता, निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले छ महिनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । एअरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्बभन्दा बढी र यतीकै भगिनी संस्था तारा एअरले रु ५० करोड हाराहारी आर्थिक नोक्सानी व्यहोरेको बताउनुभयो ।

यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत् उडान भर्दै आएको छ ।

श्री एअरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो ।

यो कम्पनीसँग आन्तरिक उडानका लागि सीआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एअरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा व्यहोर्नुपरेको छ ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्रवक्ता शर्माकाअनुसार सिजनमा हेली एभरेष्टलेमात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाइ गर्ने गरेको थियो ।

बढी उडान गर्ने सिम्रिक एअरको हेलिकोप्टर र कैलाश हेलिकोप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान छओटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए ।

सिजनमा कैलाश मानसरोवरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोरेको बताउनुभयो ।

बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी व्यहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउनमहिनासम्मको विवरण हो ।

डेढ खर्बको लगानी जोखिममा
कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ ।

बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रु एक खर्ब ५३ अर्बको लगानी छ । यो निजी क्षेत्रकोमात्रै लगानी हो ।

यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एअरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् ।

कोभिडको मख्य प्रभाव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्रसंघ, विश्व पर्यटन संघले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ ।

त्यस्तै, सरकारी तथ्यांकले पनि पर्यटन क्षेत्रमा छ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि, बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झन्डै तीन लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ ।

सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा रु एक खर्बको पुनःरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्